कोप्चे–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

ड्रागन मिडिया सम्वाददाता
दशैँमा गाउँ फर्किने र तराईका शहरमा आवतजावत गर्ने यात्रुलाई लक्षित गर्दै भोजपुरको हतुवागढी गाउँपालिका–९ हसपुरस्थित कोप्चेदेखि बराहक्षेत्रसम्म जेटबोट सेवा पुनः सञ्चालन गरिएको छ। सेवा आइतबारदेखि सुरु भएको हो।
अरुण र दूधकोशी नदीमा पानीको बहाव बढेपछि जेठको अन्तिम सातादेखि सेवा बन्द थियो। स्थानीय व्यवसायी मिलन राईका अनुसार कोप्चेदेखि बराहक्षेत्रसम्मको भाडा प्रतियात्रु पाँच सय रुपैयाँ तोकिएको छ।
करिब १९ किलोमिटरको नदीयात्रा जेटबोटबाट २० देखि २५ मिनेटमा पूरा गर्न सकिन्छ। यसअघि चतरा पुग्न तीन–चार घण्टा पैदल हिँड्नुपर्ने बाध्यता थियो।
हतुवागढी गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जलयात्राले तराईका जिल्लासँगको आवागमन सहज बनाउनुका साथै पर्यटन र स्थानीय आर्थिक गतिविधि बढाउन सहयोग गर्ने बताए।




