भारतबाट बडादशैंमा फर्किने श्रमिकलाई सीमामा सास्ती

ड्रागन मिडिया सम्वाददाता
भारतबाट बडादशैं मनाउन घर फर्किने नेपाली श्रमिकले सीमामा लामो जाँच र यातायातमा चर्को भाडा असुलीको समस्या भोग्नुपरेको छ। कञ्चनपुरको गड्डाचौकी नाकामा फर्किएका यात्रुले भारततर्फ बनबासादेखि गड्डाचौकीसम्मको यात्रामा तोकिएकोभन्दा बढी भाडा तिर्नुपरेको बताएका छन्।
कालीकोटका ५२ वर्षीय कालीबहादुर सहकारीले सामान्यतया ५० भारतीय रुपैयाँ पर्ने उक्त यात्राका लागि यसपटक २५० रुपैयाँ तिरेको बताए। कालीकोटकै अर्का श्रमिक विशाल विकले सामानसहित २०० रुपैयाँ भाडा तिरेको जनाएका छन्।
नेपालतर्फ गड्डाचौकीदेखि महेन्द्रनगरसम्मको भाडा सामान्यतया ५० रुपैयाँ भए पनि सामानको कारण देखाउँदै यात्रुसँग १०० रुपैयाँसम्म लिने गरिएको यात्रुहरूको भनाइ छ। भारततर्फ सामान बोकेर जाँचका लागि लामो समय लाइनमा बस्नुपर्ने समस्या पनि रहेको उनीहरूले बताएका छन्।
सहकारीका अनुसार उनी उत्तराखण्डमा चार दशकदेखि ज्यालामजदुरी गर्दै आएका छन्। अहिले दैनिक ५०० देखि ६०० रुपैयाँसम्म कमाउने उनले बढ्दो खर्चसँगै ज्याला पर्याप्त नबढ्दा परिवारको गुजारा चलाउन कठिन भएको बताए।
गड्डाचौकीस्थित यात्रु सहायता कक्षले यस वर्ष बढी भाडा वा अन्य समस्याबारे कुनै गुनासो नआएको जनाएको छ। कान्तिपुरमा प्रकाशित विवरणअनुसार, घर पुग्ने हतारो र तत्काल सुनुवाइ हुनेमा आश्वस्त नहुँदा यात्रुहरू उजुरी नगरी फर्किने गरेका छन्।




