राष्ट्रपति पौडेलले बिहान १०:२६ मा टीका ग्रहण गर्ने, सर्वसाधारणका लागि कार्यक्रम नहुने

राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंको मुख्य दिन बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने भएका छन्। शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा गुरु–पुरोहितबाट टीका ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।
विगतका वर्षमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम राख्दै आएको भए पनि गत वर्षदेखि यस्तो कार्यक्रम गरिएको छैन। मुलुकले विषम परिस्थिति सामना गरिरहेको र शान्तिपूर्ण तथा हर्षोल्लासपूर्ण वातावरण नरहेको भन्दै यस वर्ष पनि सर्वसाधारणका लागि टीका लगाउने कार्यक्रम नराखिएको जनाइएको छ।





