बडादशैंको मुख्य दिन आज, टीकाको उत्तम साइत बिहान १०:२६ बजे

ड्रागन मिडिया सम्वाददाता
आज विजयादशमी, बडादशैंको मुख्य दिन। मान्यजनबाट नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गरी यो चाड मनाइँदै छ। साइतमा टीका लगाउन चाहनेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान १० बजेर २६ मिनेटलाई उत्तम समय तोकेको छ। त्यसअघि बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको साइत रहेको समितिले जनाएको छ।
विजयादशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन छुट्टै साइत कुर्नु नपर्ने समितिका अध्यक्ष प्रा. पुरुषोत्तम भट्टराईले बताएका छन्। शास्त्रीय मान्यताअनुसार टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने धर्मशास्त्रविद् देवमणि भट्टराईको भनाइ छ।
धेरैले चामलको अक्षता, दही र रातो रङ मिसाएर बनाइएको टीका लगाउँछन् भने केही समुदायले कुलपरम्पराअनुसार सेतो टीका लगाउने गर्छन्। मान्यजनबाट टीका र जमरासँगै आशीर्वाद ग्रहण गर्दै परिवार तथा आफन्तजनसँग भेटघाट गर्ने चलन छ।





