बडादशैंले सामाजिक एकता र आपसी सद्भाव बलियो बनाउँछ : सभामुख अर्याल

ड्रागन मिडिया सम्वाददाता
प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले बडादशैंजस्ता चाडले नेपाली समाजमा आपसी सद्भाव, भ्रातृत्व र सामाजिक एकता सुदृढ बनाउने बताएका छन्।
बडादशैंको शुभकामना सन्देश जारी गर्दै उनले विविधतायुक्त नेपाली समाजमा मेलमिलाप र सौहार्द कायम गर्न चाडको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन्। उनले स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिएका छन्।
बडादशैंले नयाँ ऊर्जा, नवप्रवर्तन र राष्ट्र निर्माणप्रतिको सङ्कल्प जगाउने विश्वास व्यक्त गर्दै सभामुख अर्यालले राष्ट्रिय एकता बलियो बनाउन माता दुर्गा भवानीको आशीर्वाद मिलोस् भन्ने कामना गरेका छन्। नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक भएको उल्लेख गर्दै उनले बडादशैंलाई असत्यमाथि सत्य र दुराचारमाथि सदाचारको विजयका रूपमा लिइने बताएका छन्।
जनताको सार्वभौमसत्ता र राजकीय सत्ताको संरक्षण गर्दै जनभावनाअनुसार समयसापेक्ष तथा जनमैत्री कानुन निर्माण र परिमार्जन गर्न सङ्घीय संसद् प्रतिबद्ध रहेको उनको भनाइ छ। सुशासन, सामाजिक न्याय र समृद्धिका लागि संसद् क्रियाशील रहेको उल्लेख गर्दै उनले बडादशैंले सबैलाई समन्याय, सदाचार र लोकतान्त्रिक मूल्य–मान्यताअनुसार अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।





