सिचुआन पुस्तक मेलामा खाम लेखक समूहका कृतिबारे छलफल

ड्रागन मिडिया समाचार कक्ष
अक्टोबर १६ मा सिचुआन तियानफु पुस्तक मेलाका क्रममा खाम लेखक समूहका साहित्यिक कृतिमाथि विचार आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ। प्रकाशक, सम्पादक र लेखकहरू सहभागी कार्यक्रममा खाम क्षेत्रको साहित्यिक सिर्जनाका उपलब्धि र जातीय साहित्यको सिर्जना तथा प्रसारका नयाँ उपायबारे छलफल भएको थियो।

सिचुआन जातीय प्रकाशन गृहका प्रमुख आ सङग छिरिङ ताशीले जातीय साहित्यका पुस्तक प्रकाशनका विशेषता र उपलब्धिबारे जानकारी दिए। उनका अनुसार साहित्यिक कृति छनोट र सिर्जनालाई मार्गदर्शन गर्दा चिनियाँ राष्ट्रको साझा समुदायबोध सुदृढ गर्न त्यसले पुर्याउने योगदानलाई प्राथमिकता दिनुपर्छ। प्रकाशकहरूले विभिन्न जातीय समूहबीच व्यापक सम्पर्क, आदानप्रदान र गहिरो अन्तर्घुलनलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए।
कार्यक्रमले प्रकाशक र लेखकबीच विचार आदानप्रदानको माध्यम बनाउँदै लेखकलाई आफ्नो मातृभूमिका कथा लेख्न र चिनियाँ राष्ट्रको साझा समुदायको कथा प्रभावकारी रूपमा प्रस्तुत गर्न प्रोत्साहित गर्ने आयोजकहरूको भनाइ थियो।

कान्जे स्वायत्त प्रान्तको साहित्य तथा कला महासङ्घका प्रतिनिधिले स्थानीय लेखकको क्षमता विकास र जातीय साहित्यको निरन्तरताबारे चर्चा गरे। चिनियाँ र तिब्बती भाषामा सिर्जना लेखनका तालिम तथा स्थापित लेखकका प्रवचनमार्फत स्थानीय लेखकको सीप अभिवृद्धि गरिएको र अहिले ज्येष्ठ, प्रौढ तथा युवा लेखक समेटिएको समूह बनेको उनले बताए। आगामी दिनमा लेखकलाई सहयोग गर्ने व्यवस्था बलियो बनाएर खाम लेखक समूहलाई अझ सशक्त बनाउने योजना पनि उनले सुनाए।

कार्यक्रममा दुई खाम लेखकले तिब्बती भाषाको सिर्जना, सम्पादन र प्रकाशनका क्रममा भाषान्तरण, सांस्कृतिक अभिव्यक्ति र पाठकको ग्रहणशीलताबीचको सम्बन्धबारे धारणा राखे। उनीहरूका अनुसार खाम क्षेत्रका लेखकका सिर्जना हिमाली जीवन र सांस्कृतिक जरा टेक्दै विशिष्ट कथ्य तथा जातीय सौन्दर्यबोधमार्फत त्यस क्षेत्रको वैचारिक विशेषता प्रस्तुत गर्छन्। मुख्यतः युवा तिब्बती लेखक सम्मिलित खाम लेखक समूहले हालसम्म सयभन्दा बढी कृति सिर्जना तथा प्रकाशन गरेको जनाइएको छ।





