रुसी संस्था र नेपाली कम्पनीबीच डिजिटल सार्वभौमसत्ता सूचकाङ्कमा सहकार्य समझदारी

ड्रागन मिडिया समाचार कक्ष
रुसको विश्वव्यापी सूचना प्रविधि सहकार्य केन्द्र र नेपालस्थित कम्पनी काठमाडौँ फिनटेकबीच डिजिटल सार्वभौमसत्ता सूचकाङ्कसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
अक्टोबर १० मा मस्कोमा आयोजित दोस्रो विश्वव्यापी डिजिटल मञ्चका क्रममा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो। यसले काठमाडौँ फिनटेकलाई सूचकाङ्क विकाससम्बन्धी पहलमा सहभागी गराउनुका साथै दुई संस्थाबीच सहकार्यको आधार तयार गरेको रुसी पक्षले जनाएको छ।
समझदारीअनुसार दुवै पक्षले यस क्षेत्रमा अनुभव र विशेषज्ञता आदानप्रदान गर्ने, संयुक्त परियोजनाका सम्भावना अध्ययन गर्ने तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने योजना बनाएका छन्।
सूचकाङ्कका विकासकर्ता रुसी केन्द्रका अनुसार डिजिटल सार्वभौमसत्ता सूचकाङ्कले बाह्य दबाबबीच आफ्नो डिजिटल विकासको बाटो कायम राख्न सक्ने देशको क्षमताको मूल्याङ्कन गर्छ। केन्द्रले यो सूचकाङ्कमा ११७ देश समेटिएको जनाएको छ।
समझदारीपत्रमा काठमाडौँ फिनटेकका संस्थापक सञ्जीव सुब्बा र रुसी केन्द्रका निर्देशक वादिम ग्लुश्चेन्कोले हस्ताक्षर गरेका थिए।





