पूर्वराष्ट्रपति भण्डारी ग्लोबल गभर्नेन्स फोरममा सहभागी हुन चीन प्रस्थान

ड्रागन मिडिया सम्वाददाता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ग्लोबल गभर्नेन्स फोरम २०२६ मा सहभागी हुन बिहीबार चीन प्रस्थान गरेकी छन्। चीनको हपेई प्रान्तस्थित स्योङआन नयाँ क्षेत्रमा अक्टोबर २३ देखि २५ सम्म हुने फोरममा उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।
‘बदलिँदो विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण’ मुख्य विषय रहेको फोरममा संयुक्त राष्ट्रसङ्घ केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली, विश्व शान्ति, शान्ति स्थापनाका लागि आवश्यक सुधार र बहुपक्षीयताको प्रवर्द्धनबारे छलफल हुनेछ।
विकासशील राष्ट्रको बढ्दो भूमिका, अन्तर्राष्ट्रिय व्यापारमा विश्व दक्षिणका मुलुकको सहभागिता, जलवायु परिवर्तन, न्यून कार्बन विकास, दिगो विकास, कृत्रिम बौद्धिकता र साइबर क्षेत्र पनि छलफलका विषय हुनेछन्।
फोरमअन्तर्गत अक्टोबर २४ र २५ मा समानान्तर सत्र, प्यानल छलफल र गोलमेच बैठक आयोजना गरिनेछ। भण्डारी आगामी सोमबार स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।





