दसैँपछिको ‘आँधी–तुफान’बारे प्रचण्डलाई ज्ञानेन्द्र शाहीको व्यङ्ग्य

ड्रागन मिडिया सम्वाददाता
दसैँपछि सरकार ढाल्ने र लाखौँ मानिसलाई सडकमा उतार्ने चेतावनी दिएका नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले व्यङ्ग्य गरेका छन्।
दसैँको टीका सकिए पनि कुनै राजनीतिक हलचल नदेखिएको भन्दै शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, “आँधी कहाँसम्म आइपुग्यो? तुफान कति टाढा छ? बेरी चल्न थाल्यो कि फेरि जङ्गलमै हराउने हो?”
प्रचण्डले केही समयअघि दसैँ–तिहारपछि ‘आँधी, बेरी र तुफान’ ल्याएर सरकार ढाल्ने र सात लाख मानिस सडकमा उतार्ने बताएका थिए।
शाहीले अहिले सरकार ढाल्ने र अर्को सरकार बनाउने खेलमा लाग्ने समय नभएको उल्लेख गर्दै सरकारलाई जनउत्तरदायी बनाउन खबरदारी गर्नुपर्ने बताएका छन्। सरकारले राम्रो काम गरे समर्थन र प्रोत्साहन गर्न तथा नगरे खबरदारी गर्नुपर्ने उनको भनाइ छ।





