नागढुंगा–मुग्लिन सडक बन्द हुँदा काठमाडौँ जोड्ने भरपर्दो वैकल्पिक मार्ग छैन

ड्रागन मिडिया सम्वाददाता
नागढुंगा–मुग्लिन सडकमा पहिरो खस्दा काठमाडौँको आवागमन र आपूर्ति प्रभावित हुने गरेको छ। यात्रु बाटोमै अलपत्र पर्ने, बिरामीले उपचारमा ढिलाइ भोग्ने र सामान बोकेका सवारी रोकिँदा तरकारी तथा फलफूल नष्ट हुने समस्या दोहोरिँदै आएको छ। तर सडक अवरुद्ध भएपछि मात्रै विकल्प खोज्ने सरकारी प्रवृत्तिले राजधानीलाई जोड्ने वैकल्पिक मार्गहरू भरपर्दो बन्न सकेका छैनन्।
पूर्वाधार विज्ञ डा. केशव शर्माका अनुसार काठमाडौँ–तराई द्रुतमार्ग पूरा नहुँदासम्म त्रिभुवन राजपथलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउनु आवश्यक छ। साँघुरा मोड फराकिला पार्ने, उकालो–ओरालो मिलाउने र कमजोर पुलको स्तरोन्नति गर्ने कामलाई पर्याप्त बजेटसहित अघि बढाउनुपर्ने उनको सुझाव छ। ठूला सवारीका लागि पालुङ, टिस्टुङ र चित्लाङ हुँदै दक्षिणकाली जोड्ने मार्ग व्यवस्थित गर्न पनि उनले जोड दिएका छन्।
भैँसे, भीमफेदी, कुलेखानी र सिस्नेरी हुँदै दक्षिणकाली पुग्ने छोटो मार्ग साँघुरो र घुमाउरो भएकाले ठूला सवारीका लागि उपयुक्त छैन। हेटौँडाबाट ठिङ्गन हुँदै ललितपुरको भट्टेडाँडा र सातदोबाटो जोड्ने कान्ति लोकपथ पनि निर्माण सुरु भएको दशकौँ बित्दा व्यवस्थित हुन सकेको छैन। पूर्वाधार विज्ञ आशिष गजुरेलले मुख्य सडक साँघुरा हुँदा एउटै मार्ग अवरुद्ध भए राजधानी नै प्रभावित हुने जोखिम औँल्याउँदै कम्तीमा एउटा मार्गलाई बाह्रै महिना चल्ने गरी स्तरोन्नति गर्नुपर्ने बताएका छन्।
कृष्णभीरलगायत पहिरो जोखिमका क्षेत्र छल्न त्रिशूली नदीपारि अर्को वैकल्पिक मार्ग निर्माणको काम पनि भइरहेको छ। चितवनको फिस्लिङपारि गोरखाको पल्लोटारबाट सिउरेनीटार हुँदै धादिङको बेनीघाट जोड्ने १९ किलोमिटर मार्गमा १.२ किलोमिटर नयाँ सडकखण्ड खोल्न बाँकी रहेको सडक विभागले जनाएको छ. यो मार्ग पूरा भएमा पहिरोका कारण पृथ्वी राजमार्ग बन्द हुँदा आवागमनका लागि अर्को बाटो उपलब्ध हुन सक्छ।
काठमाडौँ–तराई द्रुतमार्गको भौतिक प्रगति ५०.०२ प्रतिशत पुगेको छ। निर्माणका १३ मध्ये १२ खण्डमा काम भइरहे पनि खोकना–बुङ्मती खण्ड स्थानीय सम्पदा र मुआब्जासम्बन्धी विवादका कारण अघि बढ्न सकेको छैन। सरकारले विवाद समाधान गरेर द्रुतमार्गलाई गति दिने र काम समयमै पूरा गर्ने निर्माण व्यवसायीका लागि प्रोत्साहन तथा कारबाहीसम्बन्धी व्यवस्था ल्याउने तयारी गरेको छ। आयोजनाको म्याद २०८६ चैतसम्म थपिएको छ।
विज्ञहरूले द्रुतमार्ग पूरा हुने प्रतीक्षा गर्दा मात्रै नहुने भन्दै त्रिभुवन राजपथ, कान्ति लोकपथ, चित्लाङ मार्ग र त्रिशूलीपारिको सडकलाई पनि दीर्घकालीन योजनासहित सुधार गर्नुपर्ने बताएका छन्। संकट आएपछि मात्रै वैकल्पिक मार्ग खोज्ने प्रवृत्ति त्यागेर नियमित मर्मत, पर्याप्त बजेट र समयमै निर्माणमा जोड दिन उनीहरूको सुझाव छ।





