प्राकृतिक स्रोत उपयोगबाट अन्नपूर्ण क्षेत्रमा ३ करोड ८६ लाख आम्दानी

ड्रागन मिडिया सम्वाददाता
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जडीबुटी, काठदाउरा, ढुङ्गा–गिट्टी लगायतका प्राकृतिक स्रोतको उपयोगबाट गत आर्थिक वर्षमा ३ करोड ८६ लाख ५१ हजार ९०८ रुपैयाँ आम्दानी गरेको छ।
आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ५ करोड ७७ लाख १६ हजार ७८१ रुपैयाँ र २०८०/८१ मा ३ करोड ९० लाख ९८ हजार ९९१ रुपैयाँ आम्दानी भएको थियो।
अन्नपूर्ण संरक्षण क्षेत्रका ५७ वटा व्यवस्थापन समितिले प्राकृतिक स्रोत उपयोगबापत शुल्क सङ्कलन गर्दै आएका छन्। समितिहरूले वार्षिक योजना बनाएर उक्त रकम खर्च गर्ने आयोजना प्रमुख कडरियाले बताएका छन्।
संरक्षण क्षेत्रका बहुमूल्य जडीबुटी, यार्सागुम्बासमेत, स्थानीयको आयआर्जनमा टेवा पुर्याउँदै आएका छन्। आयोजनाले प्राकृतिक स्रोतको दिगो उपयोग र संरक्षणबारे सचेतना अभियान चलाउनुका साथै पदमार्ग, फोहर व्यवस्थापन, सिँचाइ, खानेपानी, आयआर्जन र संरक्षण शिक्षाका कार्यक्रम सञ्चालन गर्दै आएको छ।
पर्यटक प्रवेश शुल्कबाट पनि आयोजनाले वार्षिक करोडौँ रुपैयाँ सङ्कलन गर्दै आएको छ। निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने पर्यटकले तिर्ने शुल्कसमेत राज्यकोषमा जम्मा हुने गरेको छ।





