पाटनको ३६२ वर्ष पुरानो अष्टमातृका नाच सम्पन्न

ड्रागन मिडिया सम्वाददाता
ललितपुरको पाटनमा हरेक वर्ष घटस्थापनादेखि ११ दिनसम्म देखाइने अष्टमातृका नाच यस वर्ष पनि सम्पन्न भएको छ। गँः प्याखँका नामले चिनिने यो नाच तान्त्रिक विधि र धार्मिक आस्थासँग जोडिएको ऐतिहासिक परम्परा हो।
अष्टमातृका नाच प्रबन्ध समितिका अध्यक्ष राजेन्द्र शाक्यका अनुसार मल्लकालीन राजा श्रीनिवास मल्लको शासनकालमा नेपाल संवत् ७८४ देखि यो नाच प्रदर्शन हुँदै आएको हो। करिब ३६२ वर्ष पुरानो मानिने यस परम्पराले नेवार समुदायको धार्मिक विश्वास र सांस्कृतिक पहिचानलाई जीवन्त राखेको छ।
घटस्थापनाका दिन नकबहिलमा पूजा गरेपछि नाच सुरु हुन्छ। देवगणहरू बाजागाजासहित नागबहाल र पट्को हुँदै मङ्गलबजार पुग्छन्। त्यहाँबाट तलेजुका पुजारीको पूजापछि उनीहरू पाटन दरबार क्षेत्रको मूलचोकमा प्रवेश गर्छन्। सुरुका चार दिन नकबहिल र मूलचोकमा नाच देखाइन्छ। त्यसपछि पाँच रात कात्तिक डबलीमा प्रदर्शन हुन्छ। फूलपाती र विजयादशमीमा दिउँसो मूलचोकमा नाच देखाइन्छ भने अन्तिम दिन एकादशीमा नकबहिल डबलीमा विशेष नृत्यसहित समापन गरिन्छ।
शाक्य र बज्राचार्य वंशका कलाकारले देवीदेवताका मुकुण्डो, परम्परागत भेषभूषा र गरगहना लगाएर मण्डलाकारमा नाच प्रस्तुत गर्छन्। यसमा सिंहिणी, भैरव, गणेश, कुमार, ब्रह्मायणी, महेश्वरी, कौमारी, वैष्णवी, वाराही, इन्द्रायणी, चामुण्डा, महालक्ष्मी र व्याघ्रिणीका १३ देवगण सहभागी हुन्छन्। प्रत्येकको तान्त्रिक मुद्रा र भावभङ्गी फरक हुन्छ।
यो नाचले देशमा शान्ति, सुरक्षा र समृद्धि कायम गर्ने तथा जल, अग्नि, सिंह, सर्प, हात्ती, चोर, कारागार र भूतप्रेतजन्य आठ भयबाट रक्षा गर्ने जनविश्वास छ। नाचमा सहभागी कलाकार र वाद्यवादकले वर्षौँदेखि आआफ्नो भूमिका निर्वाह गर्दै आएका छन्।





