७ कार्तिक २०८३, शुक्रबार

लङ मार्चको इतिहासबाट सिक्दै नयाँ उपलब्धि हासिल गर्न सी चिनफिङको आह्वान

ड्रागन मिडिया समाचार कक्ष

चिनियाँ राष्ट्रपति सी चिनफिङले लालसेनाको लङ मार्च विजयको ९०औँ वार्षिकोत्सवका अवसरमा इतिहासबाट शिक्षा लिएर नयाँ उपलब्धि हासिल गर्न आह्वान गरेका छन्। “इतिहास सम्झिएर मात्र उज्ज्वल भविष्य निर्माण गर्न सकिन्छ,” उनले बिहीबार बेइजिङमा आयोजित समारोहलाई सम्बोधन गर्दै भने।

सन् १९३४ देखि १९३६ सम्म चलेको लङ मार्चमा लालसेनाले कुओमिन्ताङ सेनाको घेराबन्दी तोड्दै करिब १२ हजार ५०० किलोमिटर यात्रा गरेको थियो। चीनको क्रान्तिको विजयको आधार निर्माण गर्न यो अभियानले महत्त्वपूर्ण भूमिका खेलेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। पूर्वी चीनको च्याङ्सी प्रान्तबाट सुरु भएको यात्रामा करिब ८६ हजार सैनिक सहभागी भएका थिए।

सीले लङ मार्चको भावना निष्ठा, सत्य, न्याय र एकताको प्रतीक भएको बताए। कठिनाइबीच अघि बढ्ने साहस र जनतामाथिको भरोसा त्यस अभियानका मुख्य पाठ भएको उनको भनाइ थियो। चीनले आधुनिकीकरण र राष्ट्रिय पुनर्जागरणको लक्ष्य हासिल गर्न यही दृढता आवश्यक रहेको उनले उल्लेख गरे।

चिनियाँ विज्ञहरूले लङ मार्चबाट आत्मनिर्भरता, वास्तविक अवस्थाको सही मूल्याङ्कन र परिस्थिति अनुसार रणनीति बदल्ने क्षमता सिक्न सकिने बताएका छन्। बेइजिङ वन विश्वविद्यालयका प्राध्यापक याङ झेका अनुसार पुराना उपायले नयाँ चुनौती समाधान गर्न नसक्दा आफ्नै परिस्थितिअनुसार बाटो खोज्नु लङ मार्चको महत्त्वपूर्ण शिक्षा हो। आज चीनले प्रविधि, ऊर्जा रूपान्तरण र राष्ट्रिय सुरक्षामा सामना गरिरहेका चुनौतीलाई उनले नयाँ “हिमाच्छादित पहाड र घाँसे मैदान”सँग तुलना गरे।

चीनले अनुसन्धान र प्रविधिमा लगानी बढाउँदै कृत्रिम बुद्धिमत्ता, परमाणु ऊर्जा, जैविक प्रविधि र चन्द्रमाको टाढाको भागबाट चट्टान नमुना ल्याउनेजस्ता क्षेत्रमा प्रगति गरेको लेखमा उल्लेख छ। सन् २०२६ को पहिलो छ महिनामा नवीकरणीय ऊर्जाबाट विद्युत् उत्पादन गर्ने जडित क्षमता २ अर्ब ४५ करोड ५० लाख किलोवाट पुगेको र यो कुल जडित क्षमताको ६०.७ प्रतिशत भएको जनाइएको छ। जुलाईको अन्त्यसम्म सौर्य ऊर्जाको जडित क्षमता कोइलाबाट उत्पादित विद्युत् क्षमताभन्दा बढी पुगेको थियो।

सीले आधुनिकीकरणसँगै जनमुक्ति सेनालाई विश्वस्तरीय बनाउन र सेनामाथि चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्व कायम राख्नुपर्ने बताए। पार्टी निर्माण र आन्तरिक अनुशासनलाई कडाइका साथ अघि बढाउनुपर्नेमा पनि उनले जोड दिए। सन् २०२६–२०३० को पन्ध्रौँ पञ्चवर्षीय योजनामा राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणलाई अघि बढाउने लक्ष्य रहेको जनाइएको छ।

चिनियाँ सैन्य मामिला विज्ञ सोङ झोङपिङका अनुसार सेनाको प्रविधि र क्षमता विकास पनि नयाँ लङ मार्चकै हिस्सा हो। लङ मार्चमा सीमित साधनस्रोतका बाबजुद लालसेनाले विजय हासिल गरेको अनुभव अहिलेको जटिल अन्तर्राष्ट्रिय परिस्थितिमा पनि उपयोगी हुने उनको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button