लालसागरमा जलयात्रा स्वतन्त्रताको पक्षमा चीन र जिबुटी

ड्रागन मिडिया समाचार कक्ष
लालसागर र बाब अल–मन्देब जलडमरूमध्यमा सबै देशका व्यापारिक जहाजको जलयात्रा अधिकारको सम्मान गर्न चीन र जिबुटीले आग्रह गरेका छन्। मध्यपूर्वको द्वन्द्व लालसागर र अफ्रिकाको सिङ क्षेत्रमा फैलिँदै गएको भन्दै उनीहरूले बाह्य शक्तिलाई बल प्रयोग र एकपक्षीय प्रतिबन्धबाट टाढा रहन आह्वान गरेका छन्।
चिनियाँ विदेशमन्त्री वाङ यी र जिबुटीका विदेश तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री अब्दुलकादेर हुसेन ओमरबीच बुधबार बेइजिङमा भएको भेटपछि दुवै देशले संयुक्त विज्ञप्ति जारी गरेका हुन्। विज्ञप्तिमा लालसागरको तनावले विश्व अर्थतन्त्र, व्यापार, लगानी, ऊर्जा तथा खाद्य सुरक्षामा गम्भीर असर पार्न सक्ने उल्लेख छ। समुद्री डकैती र आतङ्कवादजस्ता सुरक्षा चुनौती पनि बढ्न सक्ने उनीहरूको चिन्ता छ।
तनाव घटाउन संवाद र कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिँदै दुवै देशले लालसागर तथा अदनको खाडीका तटीय राष्ट्रलाई समुद्री मार्गको सुरक्षा र निर्बाध आवागमन कायम गर्न सहयोग गर्ने बताएका छन्। सबै देशका व्यापारिक जहाजले अन्तर्राष्ट्रिय कानुनअनुसार पाउने जलयात्रा अधिकारको सम्मान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
यमनमा हुथी र साउदी समर्थित सरकारी पक्षबीच पुनः तीव्र बनेको लडाइँले समुद्री मार्गको सुरक्षाबारे चिन्ता बढाएको छ। संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायका अनुसार अगस्टयता यमनमा झन्डै २ लाख ६० हजार मानिस विस्थापित भएका छन्।
बेइजिङ वैदेशिक अध्ययन विश्वविद्यालयका प्राध्यापक सोङ वेईले संयुक्त विज्ञप्तिले लालसागरको सुरक्षालाई अफ्रिकाको सिङ क्षेत्रको समग्र स्थिरता र विकाससँग जोडेको बताए। उनका अनुसार क्षेत्रीय राष्ट्रलाई निर्णय प्रक्रियाको केन्द्रमा राख्ने र कूटनीतिक मध्यस्थताका बाटा खुला राख्ने दृष्टिकोणले तनाव थप चर्किन नदिन मद्दत गर्न सक्छ।
विज्ञप्तिमा सोमालियाको सार्वभौमिकता र भौगोलिक अखण्डताको समर्थन गर्दै सोमालिल्यान्डलाई कूटनीतिक मान्यता दिने प्रयासको विरोध गरिएको छ। सोमालिल्यान्ड र ताइवानका अधिकारीबीचको कुनै पनि सहकार्यको पनि चीन र जिबुटीले विरोध गरेका छन्।
चीनले जिबुटीको एक चीन सिद्धान्तप्रतिको समर्थनको प्रशंसा गरेको छ। दुवै देशले शून्य भन्सार नीतिको उपयोग र जिबुटीको भौगोलिक अवस्थाबाट व्यापार तथा पूर्वाधार सहकार्य विस्तार गर्ने प्रतिबद्धता पनि जनाएका छन्।





