सिचाङमा ७.० परिमाणको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

ड्रागन मिडिया समाचार कक्ष
चीनको दक्षिणपश्चिमी सिचाङ स्वायत्त क्षेत्रको नाग्छु नगरअन्तर्गत बाकेन जिल्लामा बिहीबार राति ७.० परिमाणको भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको र ३२ जना घाइते भएको स्थानीय आपत्कालीन व्यवस्थापन ब्युरोले जनाएको छ।
चीन भूकम्प सञ्जाल केन्द्रका अनुसार स्थानीय समयअनुसार राति १० बजेर ३३ मिनेटमा भूकम्प गएको थियो। शुक्रबार बिहान २ बजेर २५ मिनेटसम्मको विवरणअनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर र २१ जनाको सामान्य छ। भूकम्पले ३०० भन्दा बढी घर भत्काएको जनाइएको छ।
उद्धार तथा राहतका लागि ३०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। सिचाङ क्षेत्रीय अग्नि तथा उद्धार टोलीका ३४७ जनशक्ति पनि प्रभावित क्षेत्रमा खटिएका छन्। उद्धार, राहत र क्षतिको विवरण सङ्कलन जारी रहेको सिन्ह्वा समाचार संस्थाले जनाएको छ।





