हुम्लामा रुघाखोकीका बिरामी बढे

ड्रागन मिडिया सम्वाददाता
हुम्लामा चिसो बढेसँगै मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या बढेको छ। जिल्ला अस्पतालमा पछिल्लो दुई सातादेखि बिरामीको चाप बढेको चिकित्सक मुकेश यादवले बताए।
दसैँ बिदाका कारण उपचारमा कठिनाइ नहोस् भनेर चिकित्सक र स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा सेवामा खटाइएको उनले जानकारी दिए। उनका अनुसार रुघाखोकीका लक्षण एक सातासम्म देखिन सक्छन्। उनले तातो पानी र झोलिलो खानेकुरा सेवन गर्न, आवश्यकताबिना बाहिर ननिस्कन र चाडपर्वमा खानपानमा ध्यान दिन आग्रह गरेका छन्।
ताँजाकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामलाल देवकोटाका अनुसार गाउँपालिकाका पाँचवटै वडामा रुघाखोकीका बिरामी बढेका छन्। सार्वजनिक बिदा भए पनि गाउँगाउँमा स्वास्थ्यकर्मी परिचालन गरिएको उनले बताए।
अदानचुली, सर्केगाड, खार्पुनाथ र नाम्खा गाउँपालिकामा पनि रुघाखोकीका बिरामी बढेको जनाइएको छ।





