कारागारमा गरेको भाकल पूरा गर्न भारत गए रवि लामिछाने

ड्रागन मिडिया सम्वाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धार्मिक भ्रमणका लागि कञ्चनपुरको गड्डाचौकी नाका हुँदै शुक्रबार भारत प्रस्थान गरेका छन्। तीनदिने भ्रमणमा उनी पत्नी निकिता पौडेल र प्रतिनिधिसभा सदस्य दीपकराज बोहरासँग छन्।
भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको कैँचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको बोहराले जानकारी दिए।
धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले भ्रमण व्यक्तिगत र धार्मिक रहेको तथा कुनै राजनीतिक भेटघाट तय नभएको बताए। कारागारमा रहँदा गरेको भाकल पूरा गर्न भारत जान लागेको उल्लेख गर्दै उनले आफ्नो भ्रमणका विषयमा अनावश्यक अड्कलबाजी नगर्न आग्रह गरे।





