७ कार्तिक २०८३, शुक्रबार

थोरङ्ला भञ्ज्याङ हुँदै दुई सातामा ७७२ विदेशी पर्यटक मुस्ताङ पुगे

ड्रागन मिडिया सम्वाददाता

अन्नपूर्ण चक्रीय पदमार्गको थोरङ्ला भञ्ज्याङ पार गरेर पछिल्लो दुई सातामा ७७२ विदेशी पर्यटक मनाङ हुँदै मुस्ताङ पुगेका छन्। तीमध्ये ४३ जना सार्क राष्ट्रका र ७२९ जना अन्य देशका पर्यटक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको जोमसोमस्थित जाँचचौकीले जनाएको छ।

समुद्री सतहबाट ५ हजार ४१६ मिटर उचाइमा रहेको थोरङ्ला भञ्ज्याङ हुँदै पर्यटक मनाङबाट मुक्तिनाथ पुग्छन्। असोज ११ गतेको भारी वर्षा र हिमपातले अवरुद्ध भएको पदमार्गमा जमेको हिउँ पन्छाएपछि पर्यटकको आवागमन पुनः सुरु भएको हो। मुस्ताङतर्फ पर्यटन व्यवसायी र मनाङतर्फ सुरक्षाकर्मी तथा स्थानीय व्यवसायीले हिउँ हटाएर बाटो खुलाएका थिए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्राकृतिक स्रोत संरक्षण सहायक सञ्जोग थकालीका अनुसार हिउँ हटाएपछि बिहीबारसम्म ७७२ पर्यटक थोरङ्ला हुँदै मुस्ताङ पुगेका छन्। मुक्तिनाथ होटल सङ्घका अध्यक्ष सुरज गुरुङले पदयात्राको याम सुरु भएसँगै मनाङबाट मुस्ताङ आउने पर्यटक बढेको बताए।

गुरुङका अनुसार थोरङ्ला हुँदै दैनिक एक सयभन्दा बढी पर्यटक मुक्तिनाथ पुगिरहेका छन्। बेनी–जोमसोम सडकबाट आउने पर्यटक घटे पनि पदयात्रीको आगमनले मुक्तिनाथ क्षेत्रका धेरैजसो होटल भरिन थालेका छन्। थोरङ्ला हुँदै मुस्ताङ आउने पदयात्राको मुख्य याम नोभेम्बरको अन्त्यसम्म रहने उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button