दसैँपछि सिमकोट बजारमा चहलपहल फर्कँदै

ड्रागन मिडिया सम्वाददाता
दसैँ मनाउन गाउँ गएका स्थानीय फर्किन थालेपछि हुम्लाको सदरमुकाम सिमकोटमा चहलपहल बढ्न थालेको छ। फूलपातीदेखि टीकाको दिनसम्म सुनसान देखिएको बजारमा बिहीबार दिउँसोदेखि मानिसको आवागमन बढेको स्थानीय व्यापारी लोकेन्द्र रावतले बताए।
सिमकोटमा बसोबास गर्ने बाहिरका मानिस र कर्मचारी दसैँ मनाउन घर गएपछि बजारमा स्थानीय र सुरक्षाकर्मी मात्र देखिन्थे। टीकाको दिन घरघरमा टीका लगाउन जानेहरूका कारण केही चहलपहल देखिए पनि दसैँका अन्य दिन बजार सुनसान नै रहेको स्थानीय सुनकला रोकायाले बताइन्।
गाउँमा अन्नबाली भित्र्याउने काम बाँकी रहेकाले पनि धेरै स्थानीय अझै बजार नफर्किएको बताइएको छ। नजिकका गाउँबाट फर्किने क्रम सुरु भएसँगै सिमकोट बजारमा मानिसको उपस्थिति क्रमशः बढिरहेको छ।





