बेनी–दरवाङ–मुना सडक पुनर्निर्माणमा नौ करोड लाग्ने अनुमान
ड्रागन मिडिया सम्वाददाता
म्याग्दीका विभिन्न स्थानमा बाढीपहिरो र नदी कटानबाट क्षतिग्रस्त बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब नौ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। सडकका करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।
असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरो र म्याग्दी नदीको कटानले सडकको सतह भासिनुका साथै ग्याबियन जाली, टेवा पर्खाल र कालोपत्रे बगाएको कार्यालयका इञ्जिनियर मोहन रुवालीले बताए। बेनीदेखि मंगला गाउँपालिका–२ पानाबगरसम्म १५ स्थानमा पहिरो खसेको र दुई स्थानमा नदी कटानले सडक भत्किएको छ। यस खण्डमा मात्रै तीनदेखि चार करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन छ।
मालिका गाउँपालिका–६ स्थित बलौटेमा म्याग्दी नदीले करिब १०० मिटर कालोपत्रे सडक बगाएको छ। पानाबगर–दरवाङ खण्डका चार स्थानमा पहिरोले क्षति पुर्याएको छ। दरवाङ–मुना खण्डको धारापानीमा करिब १५० मिटर ढलान सडक भासिएको छ भने थापाचौरमा पहिरोले सडक संरचना बिगारेको छ।
पूर्वाधार विकास कार्यालयका प्रमुख राजेश उलकका अनुसार बेनी–पानाबगर खण्ड पुनर्निर्माण गर्न चार करोड ६२ लाख ५६ हजार २० रुपैयाँ र पानाबगर–दरवाङ खण्डको बलौटे क्षेत्रमा काम गर्न दुई करोड २७ लाख ४३ हजार ५९९ रुपैयाँ लाग्ने अनुमान छ। बलौटेमा सडक पुनर्निर्माणका लागि प्रदेश सरकारले २५ लाख रुपैयाँको स्रोत सुनिश्चित गरेको र दसैँपछि काम शुरु गर्ने तयारी रहेको उनले बताए।
बलौटेमा नदी कटानले सडकको ठूलो भाग भत्किएकाले तत्काल नियमित यातायात सञ्चालन गर्न कठिन भएको उलकले बताए। क्षतिग्रस्त क्षेत्रमा नदी किनारतर्फ पक्की पर्खाल बनाएर सडक पुनर्निर्माण गर्नुपर्ने उनको भनाइ छ। उक्त सडकमा पैदल हिँड्नसमेत जोखिम रहेको कार्यालयले जनाएको छ।
सडक क्षतिका कारण बेनीदेखि मुना सम्मको सिधा यातायात अवरुद्ध छ। अहिले बेनीदेखि दुखुखोला पुलसम्म र त्यहाँबाट दुखुबेँसी हुँदै तोलाबाङ, दरवाङ र मुना जोड्ने वैकल्पिक मार्गबाट एकतर्फी रूपमा यातायात सञ्चालन गरिएको छ। साँघुरो र कच्ची वैकल्पिक सडकमा ठूला सवारीसाधन चलाउन कठिन भएको छ। फापरखेत पहिरोका कारण पखेर–बरंजाङ–सातबिसे–बाबियाचौर वैकल्पिक मार्ग पनि सञ्चालनमा ल्याइएको छ।
गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बस्तीलाई असर नपर्ने गरी सडक पुनर्निर्माण र आगामी वर्षायामअघि नदी नियन्त्रणको काम गर्नुपर्ने बताए। आवश्यक बजेट व्यवस्थापन गरी क्षतिग्रस्त सडक एक वर्षभित्र पुनर्निर्माण गर्न पहल भइरहेको उनको भनाइ छ।
बेनी–दरवाङ सडक २४ किलोमिटर लामो छ, जसमध्ये १६ किलोमिटर ४०० मिटर कालोपत्रे गरिएको छ। दरवाङदेखि मुना सम्मको १८ किलोमिटरमध्ये धारापानी–झिनडाँडा खण्डको छ किलोमिटरबाहेक बाँकी सडक निर्माणाधीन छ। यो मार्ग पश्चिम म्याग्दीका बासिन्दालाई सदरमुकामसँग जोड्नुका साथै ढोरपाटन हुँदै पूर्वी रुकुम पुग्ने वैकल्पिक मार्गका रूपमा पनि महत्त्वपूर्ण मानिन्छ।





