ऐतिहासिक कार्तिक नाच कात्तिक २७ देखि पाटनमा

ड्रागन मिडिया सम्वाददाता
ललितपुरको पाटन दरबारस्थित कात्तिक डबलीमा ऐतिहासिक कार्तिक नाच यस वर्ष कात्तिक २७ गतेदेखि प्रदर्शन हुने भएको छ। नाच संरक्षण समितिका अनुसार साँझ ७ बजेदेखि लगातार १२ दिनसम्म नाच देखाइनेछ।
भगवान् विष्णुका १७ कथामा आधारित नाचमा हरेक दिन फरक लीला प्रस्तुत गरिनेछ। मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याण तथा भय र त्रासबाट मुक्ति दिलाउने उद्देश्यले विसं १६९७ (नेपाल संवत् ७६१) मा यसको शुरुवात गरेका थिए। नाचका सर्जक तथा प्रवर्तकका रूपमा उनका शिक्षागुरु पण्डित हरिवंश उपाध्याय र दीक्षागुरु विश्वनाथ उपाध्यायलाई मानिन्छ।
शुरुमा पाँच दिन प्रदर्शन हुने नाचमा राजा सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले ‘बाथःप्याखँ’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेपछि अवधि १५ दिन पुगेको थियो। कुनै समय २७ दिनसम्म सञ्चालन भएको यो नाचलाई संसारकै लामो नाट्य महोत्सवमध्ये एकका रूपमा चिनिन्छ। मल्लकालमा मैथिली भाषामा प्रस्तुत हुने नाच पछि स्थानीयले बुझ्ने गरी नेपाल भाषामा प्रस्तुत गर्न थालिएको थियो।
विसं २००७ को राजनीतिक परिवर्तनपछि नाचको अवधि घटाइएको थियो। विसं २००८ देखि २०३७ सम्म वराह र नरसिंह अवतार समेटेर दुई दिन मात्र प्रदर्शन गरियो। त्यसपछि विसं २०३८ देखि २०६० सम्म आठ दिन, विसं २०७० मा १० दिन र विसं २०७१ देखि २०७६ सम्म १२ दिन सञ्चालन गरिएको थियो।
धार्मिक तथा तान्त्रिक महत्त्व बोकेको कार्तिक नाच नेवार समुदायको जातीय सद्भाव र समावेशी संस्कृतिको प्रतीकका रूपमा रहेको छ। अहिले आर्थिक अभाव, अभ्यासका लागि पर्याप्त समय नहुनु, कलाकारको कमी, उचित पारिश्रमिक दिन नसक्नु, युवा पुस्ताको वैदेशिक पलायन र नेपाल भाषाको ज्ञान घट्नु यसको निरन्तरताका चुनौती बनेका छन्।
नाचलाई दीर्घकालीन रूपमा जोगाउन संरक्षण समितिले १० करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने, कलाकारलाई व्यावसायिक बनाउने र नयाँ पुस्तालाई भाषागत तालिम दिने लक्ष्य राखेको छ।





