पहिलो महिनामा पोखरा–दुबई उडानबाट ६ हजारभन्दा बढी यात्रु

ड्रागन मिडिया सम्वाददाता
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाइ दुबईले नियमित उडान शुरु गरेको पहिलो महिनामा ६ हजार ३६२ यात्रुले सेवा लिएका छन्। गत असोज ७ देखि एक महिनाको अवधिमा उक्त मार्गमा ३० वटा उडान भएका विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए।
उनका अनुसार दुबईबाट पोखरा आएका यात्रुको सङ्ख्या ४ हजार ५२१ र पोखराबाट दुबई गएका यात्रुको सङ्ख्या १ हजार ८४१ छ। पहिलो महिनाको उडानलाई उत्साहजनक मान्दै निरौलाले सरकारी र निजी क्षेत्रको सहकार्यमा प्रवर्द्धनका काम अघि बढाउनुपर्ने बताए। दसैँ र तिहारका कारण दुबईबाट आउने यात्रुको सङ्ख्या बढेको र पोखराबाट जाने यात्रु पनि थपिँदै गएको उनको भनाइ छ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा–दुबई उडानलाई दीर्घकालीन बनाउन पोखराबाट दुबई जाने यात्रुको सङ्ख्या बढाउनुपर्ने बताए। फ्लाइ दुबईले सन् २०२७ को अक्टोबरसम्मका लागि टिकट बुकिङ खुला गरेको उल्लेख गर्दै उनले कम्पनीको व्यवस्थापन टोलीलाई धन्यवाद दिए।
पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, यात्रु सेवा कम्पनी, होटल व्यवसायी, उद्योगी र निजी क्षेत्रलाई सम्भव भएसम्म पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न आचार्यले आग्रह गरे। व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमण र अन्तर्राष्ट्रिय भ्रमण प्याकेज पोखराबाट शुरु गर्न पनि उनले अनुरोध गरे।
फ्लाइ दुबई र साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३०० भन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधा रहेको महानगर प्रमुख आचार्यले बताए। उनका अनुसार पोखराबाट दुबई मात्र नभई दुबई हुँदै जोडिने अन्य सहरका लागि पनि यात्रा गर्न सकिन्छ।
विसं २०७९ पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समय नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। चार्टर उडानबाहेक विमानस्थल मुख्यतः आन्तरिक उडानमा सीमित थियो। फ्लाइ दुबईको नियमित उडान शुरु भएपछि अन्य वायुसेवा कम्पनी पनि पोखरामा उडान गर्न आकर्षित हुने अपेक्षा गरिएको छ। नियमित अन्तर्राष्ट्रिय उडानले पर्यटन, व्यापार, रोजगारी र क्षेत्रीय आर्थिक विकासमा योगदान पुर्याउने सरोकारवालाको विश्वास छ।





