नेपालका तीन जलवायु अनुकूलन परियोजना प्रस्ताव स्वीकृत

ड्रागन मिडिया सम्वाददाता
अनुकूलन कोषको ४७औँ बोर्ड बैठकले नेपालका तीन जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत गरेको छ। प्रस्तावित परियोजनाले जोखिममा रहेका समुदायको उत्थानशीलता बढाउने, प्रकृतिमा आधारित उपाय प्रवर्द्धन गर्ने तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्ने लक्ष्य राखेका छन्।
अनुकूलन कोषका नेपाली बोर्ड सदस्य नरेश शर्माका अनुसार राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रीन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलरको अवधारणापत्र स्वीकृत भएको छ। परियोजनाले प्रकृतिमा आधारित समाधानमार्फत जलवायु उत्थानशीलता र पारिस्थितिकीय प्रणाली संरक्षणमा जोड दिनेछ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)ले कार्यान्वयन गर्ने हिन्दुकुश हिमालय क्षेत्रमा अनुकूलन तथा बाढीपहिरो पूर्वसूचना प्रणाली सुदृढ गर्ने ‘सेफ निब’ परियोजनाको ३० करोड अमेरिकी डलर प्रस्तावित बजेटसहित पूर्वअवधारणापत्र स्वीकृत भएको छ।
संयुक्त राष्ट्रसङ्घीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट)ले लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा प्रकृतिमा आधारित जलवायु कार्यमार्फत उत्थानशील समुदाय निर्माण गर्ने परियोजना कार्यान्वयन गर्नेछ। यस परियोजनाको करिब ४९ लाख ९९ हजार अमेरिकी डलरको अवधारणापत्र पनि स्वीकृत भएको छ।
यसैबीच, भोटेकोशी क्षेत्रमा विपद्पछिको व्यवस्थापन, पुनःस्थापना र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु अनुकूलन वित्त जुटाउने प्रस्तावमाथि आगामी बोर्ड बैठकमा छलफल हुने भएको छ। ४७औँ बैठकमा समय अभावका कारण निर्णय हुन नसकेपछि आगामी वैशाखमा हुने बैठकका लागि विषयसूचीमा राखिएको जनाइएको छ।





