सी चिनफिङद्वारा विश्व शासन मञ्चलाई सन्देश

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार चीनको स्योङआनमा शुरु भएको सन् २०२६ को विश्व शासन मञ्चलाई सन्देश पठाउँदै विश्व शासन प्रणालीलाई अझ न्यायपूर्ण र समतामूलक बनाउन सबै पक्षसँग सहकार्य गर्न चीन तयार रहेको बताएका छन्।
विश्व एक शताब्दीमा नदेखिएको तीव्र परिवर्तनबाट गुज्रिरहेको उल्लेख गर्दै उनले शान्ति, विकास, सुरक्षा र शासनका क्षेत्रमा रहेका कमी घट्नुको सट्टा बढ्दै गएको बताए। यस्तो परिस्थितिमा विश्वव्यापी चुनौतीको सामना गर्न संवाद, सहकार्य र साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो।
सीले अघि सारेको विश्व शासन पहलले न्यायपूर्ण र समतामूलक विश्व शासन प्रणाली तथा राम्रो विश्व निर्माणलाई प्रोत्साहन गर्ने सन्देशमा उल्लेख छ। सबै पक्षले व्यापक परामर्श, संयुक्त योगदान र साझा लाभमा आधारित विश्व शासनको अवधारणा अपनाउनुपर्ने उनले बताए।
आत्मविश्वास निर्माणमार्फत शक्ति एकत्रित गर्न र सहकार्यबाट चुनौती समाधान गर्न आह्वान गर्दै सीले विश्व शासन पहलको कार्यान्वयनले अन्योल र परिवर्तनबीच विश्वमा स्थिरता तथा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे। उनले मानवजातिको साझा भविष्य भएको समुदाय निर्माणतर्फ मिलेर अघि बढ्न पनि आग्रह गरे।
चिनियाँ जनविदेश मामिला संस्थानले आयोजना गरेको मञ्चको यस वर्षको विषय “परिवर्तनशील विश्वमा विश्वास र सहकार्यको पुनर्निर्माण : विश्व शासन प्रणालीको सुधार र उन्नयन” रहेको छ।





