सिचाङ भूकम्प प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र

ड्रागन मिडिया समाचार कक्ष
चीनको सिचाङ स्वायत्त क्षेत्रको नाग्छु शहरस्थित बाछेन जिल्लामा बिहीबार राति गएको ७ म्याग्निच्युडको भूकम्पपछि खोज तथा उद्धार, घाइतेको उपचार र राहत वितरण तीव्र पारिएको छ। स्थानीय अधिकारीका अनुसार शुक्रबार दिउँसोसम्म भूकम्पमा १६ जनाको मृत्यु भएको र ७६ जना घाइते भएका छन्। ३३९ घरपरिवारका आवासमा क्षति पुगेको छ।
स्थानीय अग्नि तथा उद्धार टोलीका आठ सदस्य दुई सवारीसाधनमा शुक्रबार बिहान २:१० बजे प्रभावित क्षेत्रमा पुगेका थिए। टोलीले १० मिनेटपछि भग्नावशेषमा फसेका एक जनालाई उद्धार गरेको सञ्चारमाध्यमले जनाएका छन्।
आदेश प्राप्त भएपछि सिचाङ सैन्य कमान्ड र चिनियाँ जनसशस्त्र प्रहरी बलको सिचाङ कोरले विपद् प्रतिकार्य योजना सक्रिय पारेका थिए। २० भन्दा बढी सवारीसाधनमा ३०० भन्दा बढी सुरक्षाकर्मी रातारात प्रभावित क्षेत्रतर्फ पठाइएको सिन्ह्वाले जनाएको छ। पश्चिमी थिएटर कमान्ड वायुसेनाले शुक्रबार मध्यराततिर मानवरहित विमान परिचालन गरी प्रभावित क्षेत्रको हवाई अनुगमन गरेको थियो।
विभिन्न तहका निकायले उपलब्ध गराएका राहत सामग्री शुक्रबार बिहानैदेखि प्रभावित क्षेत्रमा पुग्न थालेका छन्। ती सामग्रीमा एक हजार अस्थायी आवास, तीन हजार २०० भन्दा बढी पाल, दुई हजार ८०० भन्दा बढी खाट तथा सिरक, चुलो र कपडालगायत दैनिक उपभोगका वस्तु छन्।
विपद् व्यवस्थापन निकायले प्राकृतिक विपद् राहतका लागि तेस्रो तहको आपत्कालीन प्रतिकार्य सक्रिय गरेको छ। प्रभावित क्षेत्रमा प्रहरी, अग्नि तथा उद्धारकर्मी, विद्युत् र यातायातसम्बन्धी टोली परिचालन भएका छन्। ३०० भन्दा बढी प्रहरी उद्धारमा खटिएका छन् भने क्षेत्रीय अग्नि तथा उद्धार टोलीले ३४७ जनशक्ति र नौ हजार ४०० भन्दा बढी सामग्री प्रभावित क्षेत्रमा पठाएको छ।
आपत्कालीन विद्युत् आपूर्तिका लागि स्टेट ग्रिड सिचाङ इलेक्ट्रिक पावर कम्पनीले २३ कर्मचारी, छ सवारीसाधन, ४९ वटा प्रकाश उपकरण र दुई वटा न्यून भोल्टेज विद्युत् उत्पादन सवारीसाधन पठाएको छ। टोलीले रातभर विद्युत् संरचनाको निरीक्षण गरेको कम्पनीले जनाएको छ।
स्वयंसेवी संस्था सिचाङ ब्लु स्काई रेस्क्युले २० उद्धारकर्मी र सात सवारीसाधनसहित पहिलो टोली पठाएको जनाएको छ। टोलीसँग भूकम्प उद्धारका सयभन्दा बढी उपकरण र स्वास्थ्य सामग्री छन्। थप २० जना उद्धारकर्मी आवश्यक परे परिचालन गर्न तयारी अवस्थामा राखिएको संस्थाले बताएको छ।
भूकम्पको केन्द्रबिन्दु बाछेन जिल्लाबाट ५९ किलोमिटर, छिङहाई प्रान्तको जादोइ जिल्लाबाट १५२ किलोमिटर र सिचाङको ल्हासाबाट ३९९ किलोमिटर टाढा रहेको विवरणमा उल्लेख छ। केन्द्रबिन्दु आसपासको औसत उचाइ करिब चार हजार ८०० मिटर छ र त्यहाँ बस्ती विरल छन्। भूकम्पपछि बिहीबार राति जादोइ जिल्लामा ४.३ म्याग्निच्युडको अर्को भूकम्प गएको चीन भूकम्प सञ्जाल केन्द्रले जनाएको छ।
चीनको अर्थ मन्त्रालय र आपत्कालीन व्यवस्थापन मन्त्रालयले खोज तथा उद्धार र प्रभावितलाई सहायता गर्न सिचाङका लागि ५० करोड युआन केन्द्रीय विपद् राहत रकम छुट्याएका छन्। राष्ट्रिय विकास तथा सुधार आयोगले क्षतिग्रस्त पूर्वाधार र सार्वजनिक सुविधाको आपत्कालीन पुनःस्थापनाका लागि केन्द्रीय बजेटबाट तीन करोड युआन छुट्याएको छ।





