बेलारुसमा मानवीय पहलबाट १२ परिवार पुनर्मिलन

ड्रागन मिडिया समाचार कक्ष
रुस र युक्रेनका सात–सात जना नागरिकलाई आ–आफ्नो देश फर्काउने क्रममा बेलारुसमा १२ परिवारको पुनर्मिलन भएको रुसकी मानवअधिकार आयुक्त याना लान्तरातोभाले बताएकी छन्।
अक्टोबर २३ मा बेलारुसमा भएको मानवीय पहलपछि सात जना रुस फर्किएका र सात जना युक्रेन गएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन्। फर्कनेमध्ये कागजातसम्बन्धी समस्याका कारण लामो समयदेखि परिवारसँग भेट्न नपाएका र परिवारबाट टाढा परेका ज्येष्ठ नागरिकसमेत रहेको उनले उल्लेख गरेकी छन्।
रुस र युक्रेनबीच भएका सहमति तथा रेडक्रसको अन्तर्राष्ट्रिय समितिको सहयोगमा पहल सम्भव भएको लान्तरातोभाले बताएकी छन्। उनले मानवीय विषयमा संवाद कायम राखेर समाधान खोज्नुपर्नेमा जोड दिँदै युक्रेनी संसद्का मानवअधिकार आयुक्त दिमित्रो लुबिनेत्सप्रति आभार व्यक्त गरेकी छन्।





