जलवायु अनुकूलन कोषबाट नेपालका तीन परियोजना स्वीकृत

ड्रागन मिडिया सम्वाददाता
जलवायु परिवर्तनका असर अनुकूलन गर्न नेपालले अघि सारेका तीन परियोजना अनुकूलन कोषको ४७औँ बोर्ड बैठकबाट स्वीकृत भएका छन्।
स्वीकृत परियोजनामध्ये ‘ग्रिन कोशी’मा प्रकृतिमा आधारित समाधानमार्फत कोशी क्षेत्रमा पारिस्थितिक प्रणालीको संरक्षण र जलवायु उत्थानशीलता बढाउने लक्ष्य छ। राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने यस परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलर प्रस्ताव गरिएको छ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले कार्यान्वयन गर्ने अर्को परियोजनाले हिन्दुकुश हिमालय क्षेत्रमा जलवायु अनुकूलन तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्नेछ। यसका लागि तीन करोड अमेरिकी डलरको प्रस्ताव स्वीकृत भएको छ।
तेस्रो परियोजना लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा प्रकृतिमा आधारित जलवायु कार्यमार्फत समुदायको उत्थानशीलता बढाउन केन्द्रित छ। संयुक्त राष्ट्रसङ्घीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट)ले कार्यान्वयन गर्ने यस परियोजनाका लागि ४९ लाख ९८ हजार ७०७ अमेरिकी डलर प्रस्ताव गरिएको छ।
राष्ट्रिय प्रकृति संरक्षण कोषकी अध्यक्षसमेत रहेकी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यी परियोजनाले पारिस्थितिक प्रणाली संरक्षण, विपद्को पूर्वसूचना र स्थानीय समुदायको जलवायु अनुकूलन क्षमतामा योगदान पुर्याउने बताएकी छन्। अन्तर्राष्ट्रिय जलवायु अनुकूलन वित्तको माग बढिरहेका बेला तीनवटै प्रस्ताव स्वीकृत हुनु महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।





