राप्ती प्रादेशिक अस्पतालमा दुई वर्षदेखि सिटीस्क्यान सेवा बन्द

ड्रागन मिडिया सम्वाददाता
तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन दुई वर्षभन्दा बढी समयदेखि बिग्रिएर थन्किएको छ। मर्मत खर्च महँगो भएकाले मेसिन सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताएका छन्।
अस्पतालमा सघन उपचार कक्ष (आइसियू) नहुँदा गम्भीर अवस्थाका बिरामीलाई जिल्ला बाहिरका अस्पतालमा पठाउनुपर्ने बाध्यता छ। “आइसियू नहुँदा बिरामी रेफर गर्नुपर्ने अवस्था छ,” डा. होदाले भने, “अस्पताललाई रेफर सेन्टर भनेर व्यङ्ग्य गर्ने गरिन्छ।”
हेमोडायलासिस सेवासमेत सीमित क्षमतामा सञ्चालन भइरहेको छ। अस्पतालमा रहेका १६ मेसिनमध्ये नौवटा मात्र चालू छन्। यसका कारण विपन्न परिवारका ९० भन्दा बढी बिरामी पालो कुरिरहेको डा. होदाले बताए।
अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले डायलासिस सेवाको समस्या समाधान गर्न थप पहल आवश्यक रहेको बताएका छन्। अस्पताल हाल १४१ शय्यामा सञ्चालन भए पनि ५० शय्याको मात्र अनुमति पाएको छ।





