८ कार्तिक २०८३, शनिबार

कांग्रेस केन्द्रीय समितिमा महिला प्रतिनिधित्व ३० प्रतिशतभन्दा कम

ड्रागन मिडिया सम्वाददाता

नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व ३० प्रतिशतभन्दा कम रहेको छ। २३१ पदका लागि भएको निर्वाचनबाट ६९ महिला निर्वाचित भएका छन्, जुन कुल निर्वाचित सदस्यको २९.८७ प्रतिशत हो।

निर्वाचित महिलामध्ये तीन जना पदाधिकारी र ६६ जना केन्द्रीय सदस्य छन्। उपसभापति, महामन्त्री र सहमहामन्त्रीमा महिलाका लागि एक–एक पद आरक्षित गरिएको थियो। ती पदमा क्रमशः पुष्पा भुसाल, डिला संग्रौला पन्त र प्रतिमा गौतम निर्वाचित भएका छन्। कांग्रेसको इतिहासमा पहिलोपटक महिला महामन्त्री निर्वाचित भएकी छन्।

केन्द्रीय सदस्यका विभिन्न समावेशी समूहमा महिलाका लागि छुट्याइएका पदबाट विभिन्न जातीय तथा समुदायगत समूह, सातै प्रदेश, युवा, पेसागत समूह र श्रमिक प्रतिनिधित्वसहित ६६ महिला निर्वाचित भएका हुन्। आरक्षित पदबाहेकका स्थानमा उम्मेदवारी दिएका १२ महिलामध्ये कोही पनि निर्वाचित हुन सकेनन्।

कांग्रेसको विधानले सबै तहका कार्यसमितिमा कम्तीमा एकतिहाइ महिला सहभागिता सुनिश्चित गरेको छ। २९७ सदस्यीय केन्द्रीय समितिमा एकतिहाइ पुर्‍याउन ९९ महिला हुनुपर्छ। निर्वाचनबाट ६९ जना मात्रै आएकाले सभापतिले मनोनीत गर्ने ६६ सदस्यमा कम्तीमा ३० महिला समेट्नुपर्नेछ।

नवनिर्वाचित महामन्त्री डिला संग्रौलाले नेतृत्व तह र विभिन्न समुदायमा महिलाको उपस्थिति बढ्नु सकारात्मक भएको बताइन्। निर्वाचनबाट एकतिहाइ प्रतिनिधित्व नपुगे मनोनयनमार्फत पूरा गर्नुपर्ने विधानको व्यवस्था अझै बाँकी रहेको उनको भनाइ छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button