तिर्पामा विद्यालयमा पुस्तकालय स्थापना गर्न सांगीतिक कार्यक्रम

ड्रागन मिडिया सम्वाददाता
खोटाङको रावाबेसी गाउँपालिका–३, तिर्पास्थित गुप्तेश्वर आधारभूत विद्यालयमा कर्ण पुस्तकालय स्थापना गर्न दसैँको अवसरमा सांगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको छ।
तिर्पा सेवा समाजले आयोजना गरेको कार्यक्रममा गायक पदम राई र अनिल कोयी राईले गीत प्रस्तुत गरेका थिए। जादुगर राजेन्द्र गिरी ‘गुन्द्रुके’ र कलाकार विनोद पुरी ‘पुरी बा’ले मनोरञ्जनात्मक प्रस्तुति दिए भने मोडल निरुता लामाले नृत्य प्रस्तुत गरिन्। कार्यक्रममा नृत्य र डोरी तान्ने प्रतियोगितासमेत भएको थियो।
नृत्य प्रतियोगितामा निलम मगर पहिलो, निर्जला श्रेष्ठ दोस्रो र धना मगर तेस्रो भए। डोरी तान्ने प्रतियोगितामा मुकेश मगरको समूह पहिलो र रोजन केसीको समूह दोस्रो भयो। विजेतालाई नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका अवसरमा शिक्षक उर्मिला दाहालले दिवङ्गत भाइ प्रकाश खतिवडाको स्मृतिमा विद्यालयलाई दुई थान कम्प्युटर हस्तान्तरण गरिन्। समाजसेवी तथा सहयोगदाताहरूले पुस्तकालयका लागि पुस्तक उपलब्ध गराएका थिए। हलेसी भजन सङ्ग्रहलाई भजन सामग्रीसमेत प्रदान गरिएको थियो।
समाजका संस्थापक अनोज रिजालका अनुसार दसैँमा गाउँलेलाई एकै ठाउँमा भेला गराउने र गाउँको विकासमा सहकार्य जुटाउने उद्देश्यले कार्यक्रम गरिएको हो। विद्यालयमा पुस्तकालय स्थापना गरी पढ्ने संस्कृतिको विकास गर्नु यसपटकको कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले बताए।





