नयाँ महासचिवको निर्वाचनले राष्ट्रसङ्घीय सचिवालयमा पश्चिमी प्रभाव घटाउने रुसको आशा

ड्रागन मिडिया समाचार कक्ष
संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा रुसी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले नयाँ महासचिवको निर्वाचनले राष्ट्रसङ्घीय सचिवालयमा पश्चिमी प्रभाव अन्त्य गर्न सहयोग पुग्ने आशा व्यक्त गरेका छन्।
रुसी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय सङ्गठन विभागका निर्देशक किरिल लोग्भिनोभले राष्ट्रसङ्घ “गम्भीर प्रणालीगत सङ्कट”मा रहेको बताएका छन्। उनले राष्ट्रसङ्घको काममा सामूहिकताको भावना पुनःस्थापित गर्न, बडापत्रका सिद्धान्त पूर्ण रूपमा पालना गर्न र विश्वव्यापी दक्षिणको आवाज बलियो बनाउनुपर्ने बताएका छन्।
लोग्भिनोभले सचिवालयको काममा राजनीतिकरण र कर्मचारीतन्त्र बढेको, निर्णय प्रक्रिया प्रभावहीन बनेको तथा सदस्य राष्ट्रहरूको आन्तरिक मामिलामा हस्तक्षेप भएको आरोप पनि लगाए। उनका अनुसार यस्ता प्रवृत्तिले राष्ट्रसङ्घको प्रतिष्ठा र प्रभावकारितामा असर पारेको छ। यी राष्ट्रसङ्घको अवस्थाबारे रुसका धारणा हुन्।
सन् २०१७ देखि महासचिव रहेका एन्टोनियो गुटेरेसको कार्यकाल सन् २०२६ डिसेम्बर ३१ मा सकिँदै छ। सुरक्षा परिषद्ले महासचिव पदका लागि उम्मेदवार सिफारिस गरेपछि महासभाले औपचारिक निर्वाचन गर्नेछ।
रुसले कुनै खास उम्मेदवारलाई समर्थन नगरेको जनाएको छ। रुसी उपविदेशमन्त्री अलेक्जान्डर अलीमोभले नयाँ महासचिवका लागि व्यावसायिक दक्षता र निष्पक्षता मुख्य योग्यता हुनुपर्ने बताएका छन्।





