वाग्लेको अभिव्यक्तिमा राणा र थापाको फरक प्रतिक्रिया

ड्रागन मिडिया सम्वाददाता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिलाई लिएर राष्ट्रवाद र नेपाल–भारत सम्बन्धबारे सार्वजनिक बहस चर्किएको छ। पूर्वउपरप्रधानमन्त्री कमल थापाले वाग्लेको भनाइको आलोचना गरेका छन् भने अवकाशप्राप्त जनरल विनयविक्रम राणाले राष्ट्रवादलाई भारतविरोधसँग मात्र जोड्न नहुने धारणा राखेका छन्।
थापाले सामाजिक सञ्जालमा लेख्दै वाग्लेको अभिव्यक्तिलाई नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भनेका छन्। भारतविरोधी राष्ट्रवादको समय सकिएको भन्ने तर्कले राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उनको आरोप छ। सीमा मिचिनु, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको थापाको भनाइ छ। उनले सरकारको धारणा पनि यही हो कि होइन भनेर प्रश्न गरेका छन्।
राणाले भने “राष्ट्रवाद भनेको भारतविरोध होइन, नेपालको पक्षमा उभिनु हो” भन्दै राष्ट्रवादलाई राष्ट्रिय स्वाभिमान, आर्थिक आत्मनिर्भरता, रणनीतिक सन्तुलन, सक्षम कूटनीति र नागरिकको समृद्धिसँग जोड्नुपर्ने बताएका छन्। भारतको हरेक नीतिको विरोध गर्नु राष्ट्रवाद नभएजस्तै, भारतसँगको हरेक सहकार्य राष्ट्रघात नहुने उनको धारणा छ।
नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, सीमा र राष्ट्रिय हितविपरीतका गतिविधिको विरोध गर्नु नागरिकको अधिकार र दायित्व भएको उल्लेख गर्दै राणाले नेपालको हित हुने व्यापार, लगानी, ऊर्जा, पूर्वाधार तथा कूटनीतिक सहकार्य अघि बढाउनुपर्ने बताएका छन्। उनका अनुसार भारतसँग सम्मानजनक सम्बन्ध र विवेकपूर्ण सहकार्य आवश्यक छ, तर त्यस क्रममा नेपालको राष्ट्रिय हित बिर्सनु हुँदैन।
भारतमा आयोजित कार्यक्रममा वाग्लेले विगतमा भारतको विरोध गर्नु नै राष्ट्रवाद हो भन्ने भाष्य बनेको, तर नयाँ पुस्तामा त्यस्तो सोच नरहेको बताएका थिए। उनको भनाइपछि राजनीतिक वृत्तमा त्यसको आशय र नेपाल–भारत सम्बन्धमा राष्ट्रहितको भूमिकाबारे बहस सुरु भएको छ।





