बडादसैँ कोजाग्रत पूर्णिमासँगै समापन हुँदै

ड्रागन मिडिया सम्वाददाता
नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व आज कोजाग्रत पूर्णिमासँगै समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाको साँझ धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेपछि १५ दिन लामो पर्व सकिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि समापन हुन्छ। यससँगै विजयादशमीदेखि सुरु भएको टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने क्रम समाप्त हुन्छ। कतिपयले आज जमरा नजिकको नदी, तलाउ वा पोखरीमा विसर्जन गर्छन्।
समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बसेका घरमा देवी प्रवेश गरेर धन र ऐश्वर्य प्रदान गर्छिन् भन्ने धार्मिक विश्वास छ। कोजाग्रत पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ।
नवरात्र विजयादशमीकै दिन सकिए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमासम्म रहन्छ। आज महालक्ष्मीसँगै हात्तीमा सवार इन्द्रको पनि पूजा गर्ने चलन छ।
समितिले स्वीकृति दिएका पात्रोअनुसार कात्तिक स्नान र तुलसीको विशेष पूजा सोमबारदेखि सुरु हुनेछ। आकाशदीपदान पनि सोमबार साँझदेखि प्रारम्भ गरिनेछ।





