तनहुँमा तरकारी र धान जोन विस्तार, ३ हजार ८२७ किसान लाभान्वित
ड्रागन मिडिया सम्वाददाता
तनहुँमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सञ्चालित तरकारी र धान जोन विस्तार हुँदै गएको छ। यी कार्यक्रमबाट हालसम्म ३ हजार ८२७ किसान लाभान्वित भएको कार्यक्रम कार्यान्वयन इकाई गोरखाले जनाएको छ।
इकाईका वरिष्ठ कृषि विकास अधिकृत पूर्ण ढुङ्गानाका अनुसार तरकारी जोनको क्षेत्रफल २१८ हेक्टर बढेर ७२३ हेक्टर पुगेको छ। आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको यो कार्यक्रम सुरुमा ५०५ हेक्टरमा सञ्चालित थियो। यसबाट १ हजार ९८९ किसान लाभान्वित भएका छन्।
धान जोनको क्षेत्रफल पनि ८५ हेक्टर विस्तार भएर ५८५ हेक्टर पुगेको छ। आर्थिक वर्ष २०७९/८० मा ५०० हेक्टरबाट सुरु गरिएको यस कार्यक्रमबाट १ हजार ८३८ किसान लाभान्वित भएको ढुङ्गानाले बताए।
तरकारी जोन आँबुखैरेनी, व्यास, बन्दीपुर र भानुमा सञ्चालनमा छ। धान जोन व्यास नगरपालिका–८, ९ र ११, भानु नगरपालिका तथा बन्दीपुर गाउँपालिका–१ मा लागू गरिएको छ।
दुवै कार्यक्रममार्फत सहकारी, कृषक समूह र कृषि उद्यमीलाई समेटेर खेतीलाई व्यावसायिक तथा उत्पादनमुखी बनाउने प्रयास भइरहेको छ।





