फापरखेत पहिरो र तातोपानी कुण्डको समस्या समाधान गर्न मन्त्री पुनको चासो

ड्रागन मिडिया सम्वाददाता
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको फापरखेत पहिरो र बाढीले क्षति पुर्याएको सिङ्गा–तातोपानी कुण्डको समस्या समाधानबारे चासो देखाएका छन्। उनले शनिबार पहिरो, कुण्ड र पहिरोको विकल्पका रूपमा पक्की पुल निर्माण प्रस्ताव गरिएको स्थानको निरीक्षण गरेका हुन्।
बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सीमामा रहेको फापरखेत पहिरोले बेनी–दरबाङ सडक अवरुद्ध गर्दै आएको छ। पछिल्लो एक सातादेखि निरन्तर सुक्खा पहिरो खसेपछि मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडक प्रभावित भएको छ।
मन्त्री पुनले पहिरो नियन्त्रणका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले चार करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए। उनले बर्खाअघि नै जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था अन्त्य गर्ने बताए। गत महिना म्याग्दी नदीमा आएको बाढीले क्षति पुर्याएको सिङ्गा–तातोपानी कुण्ड पुनर्निर्माणका लागि लागत अनुमान तयार गरी बजेट माग गर्न उनले आग्रह गरे।
कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्कालगायतले बाढीले पुर्याएको क्षति र श्रमदानबाट नदीजन्य पदार्थ हटाएर कुण्डलाई अस्थायी रूपमा सञ्चालन गरिएको अवस्थाबारे मन्त्री पुनलाई जानकारी गराएका थिए।
दीर्घकालीन समाधानका लागि गण्डकी प्रदेश सरकारले पहिरोको विकल्पमा पक्की पुल निर्माण प्रक्रिया अघि बढाएको छ। पक्की पुल नबन्दासम्म सङ्घीय सरकारले बेलिब्रिजको व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि गरिएको छ। यसअघि पहिरो रोकथामका लागि गरिएका प्रयास प्रभावकारी नभएपछि प्रदेश सरकारले अस्थायी रूपमा पहिरो पन्छाएर सडक सञ्चालन गर्दै आएको छ।





