नेटो गतिविधिले युरोपको सुरक्षा अवस्था बिगारेको रुसी आरोप

ड्रागन मिडिया समाचार कक्ष
रुसले नेटोका गतिविधि र पश्चिमी देशको नीतिका कारण युरोपको सुरक्षा अवस्था वर्षैपिच्छे बिग्रँदै गएको आरोप लगाएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाको पहिलो समितिअन्तर्गत क्षेत्रीय निशस्त्रीकरण तथा सुरक्षासम्बन्धी छलफलमा रुसी प्रतिनिधिमण्डलकी उपप्रमुख नतालिया फुजेन्कोभाले यस्तो धारणा राखेकी हुन्।
न्युयोर्कमा अक्टोबर २३ मा भएको छलफलमा उनले अन्तर्राष्ट्रिय सम्बन्धमा अभूतपूर्व परिवर्तन भइरहेको र भू–राजनीतिक उद्देश्यका लागि अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्त बेवास्ता गरिएको बताइन्। अन्य देशका मूलभूत हितलाई मान्यता नदिने तथा सैन्य श्रेष्ठता हासिल गर्ने प्रयासले सुरक्षाको नयाँ अवस्था सिर्जना गरेको उनको भनाइ थियो।
सैन्य गठबन्धन विस्तार र नयाँ गठबन्धन गठनले सुरक्षाको अविभाज्यता सिद्धान्तको उल्लङ्घन भइरहेको फुजेन्कोभाले आरोप लगाइन्। हतियार नियन्त्रण तथा विश्वास र सुरक्षा निर्माणका उपायबारे रुसले लामो समयदेखि सहकार्यको प्रस्ताव राखे पनि पश्चिमी देशबाट जवाफ नआएको उनले बताइन्।
उनका अनुसार रुसले सैन्य टकराव रोक्ने, तनाव घटाउने र समुद्र तथा हवाई क्षेत्रमा जोखिमपूर्ण सैन्य गतिविधि एवं घटनाबाट बच्ने उद्देश्यले सहकार्यको प्रस्ताव गरेको थियो। तर, पश्चिमी देशले ‘नियममा आधारित विश्व व्यवस्था’ तथा जोखिम र सङ्कट व्यवस्थापनका अवधारणा अघि सारेको उनले आरोप लगाइन्।
युरोपको सुरक्षा अवस्था बिग्रनुमा अघिल्लो अमेरिकी प्रशासन र उसका नेटो सहयोगीले रुससँग खुला टकरावको नीति अपनाउनु तथा हतियार नियन्त्रण र विश्वास निर्माणका संरचना भत्काउनु जिम्मेवार रहेको फुजेन्कोभाको दाबी थियो। पश्चिमी नेताका विदेश नीति कदमले वर्षौँको सहकार्य र आपसी सम्झौताबाट बनेको युरोपेली सुरक्षा आधार कमजोर बनाएको उनले बताइन्।
रुसको सीमाक्षेत्रनजिक नेटोका जहाज र विमानबाट गुप्तचरी गतिविधि बढेको, रुसविरोधी अभ्यास विस्तार भएको र पश्चिमी रणनीतिक दस्तावेजमा रुसलाई शत्रुका रूपमा उल्लेख गरिएको पनि उनले आरोप लगाइन्। युक्रेनलाई गुप्तचर सूचना उपलब्ध गराउने तथा रुसी भूभागभित्रका आक्रमणको योजना र कार्यान्वयनमा नेटो विशेषज्ञ संलग्न रहेको उनको भनाइ थियो।
युरोपले सन् २०३० सम्ममा रुससँग पूर्णस्तरको युद्धका लागि तयारी गरिरहेको चर्चा हुन थालेको भन्दै फुजेन्कोभाले चिन्ता व्यक्त गरिन्। यी आरोपबारे नेटो वा पश्चिमी देशको प्रतिक्रिया उक्त वक्तव्यमा समेटिएको छैन।





