नेपाल–भारत सीमापार पर्यटन कार्यक्रम आजदेखि

ड्रागन मिडिया सम्वाददाता
नेपाल र भारतबीच पर्यटन तथा आतिथ्य क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले ‘नेपाल–भारत सीमापार पर्यटन सम्पर्क २०२६’ आजदेखि सुरु हुँदै छ। भारतका विभिन्न सहरबाट आएका पर्यटन तथा भ्रमण व्यवसायीलाई दिउँसो सुनौली नाकामा स्वागत गरिने कार्यक्रम छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानको संयुक्त आयोजनामा हुने कार्यक्रमले नेपाली होटल, रिसोर्ट, भ्रमण कम्पनी र पर्यटकीय गन्तव्यलाई भारतीय बजारसँग जोड्ने लक्ष्य राखेको छ। दुवै देशका व्यवसायीबीच दीर्घकालीन साझेदारी र संयुक्त पर्यटन प्याकेज विकासबारे पनि छलफल हुनेछ।
कार्यक्रमको उद्घाटन एनआरएनएका वरिष्ठ उपाध्यक्ष रोबिनप्रसाद शेरचन, भारतको ट्राभल ट्रेड वेलफेयर एसोसिएसनका अध्यक्ष राजेश सिन्हा, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका अध्यक्ष डा. जितेन्द्र पाल सिंह र लुम्बिनी प्रदेश पर्यटन विकास परिषद्की कार्यकारी निर्देशक शारदा बस्याल बेलबासेले संयुक्त रूपमा गर्नेछन्।
सुनौलीमा स्वागत तथा उद्घाटनपछि प्रतिनिधिमण्डल रामग्राम जानेछ। त्यहाँ नगरप्रमुख धनपत यादवले टोलीलाई स्वागत गर्नेछन्। प्रतिनिधिमण्डलले रामग्राम स्तूपको अवलोकन गरेपछि नवलपुरको अमलटारीस्थित थारू गाउँ रिसोर्ट पुग्ने कार्यक्रम छ। त्यहाँ स्थानीय आतिथ्य, पर्यटन गन्तव्य र व्यावसायिक साझेदारीका सम्भावनाबारे छलफल हुनेछ।
चितवनको वन्यजन्तु तथा प्राकृतिक पर्यटन, नवलपुरको थारू संस्कृति र सामुदायिक पर्यटन, लुम्बिनीको बौद्ध सम्पदा तथा पोखराको प्राकृतिक र साहसिक पर्यटनलाई समेटेर संयुक्त भ्रमण प्याकेज बनाउने सम्भावनाबारे पनि विचारविमर्श गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार कार्यक्रमले दुई देशबीच पर्यटक आवागमन बढाउनुका साथै लगानी, रोजगारी र स्थानीय आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।





