स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

ड्रागन मिडिया सम्वाददाता
रसुवाको स्याफ्रुबेँसीमा सवारीसाधन आवतजावत गर्न मिल्ने बेलिब्रिज निर्माण तीव्र पारिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय प्रशासनको समन्वयमा काम अघि बढाइएको हो।
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे र प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेती नेतृत्वको टोलीले शनिबार निर्माणस्थलको अनुगमन गरेको थियो।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले धुञ्चे–स्याफ्रुबेँसी सडकको पक्की पुल बगाएपछि त्यहाँ बेलिब्रिज जडान गर्न जग निर्माण सुरु गरिएको छ। तिहारअघि पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित चौबिसै घण्टा काम भइरहेको प्रशासनले जनाएको छ।
बाढीले स्याफ्रुबेँसी–बृद्धिम आवागमनमा पनि अवरोध पुर्याएको छ। उक्त क्षेत्रमा फड्के पुल बनाउन जिल्ला प्रशासनले फलामे लट्ठा उपलब्ध गराएपछि निर्माण अघि बढाइएको छ।





