दशैं बिदामा बर्दिया निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

ड्रागन मिडिया सम्वाददाता
दशैं बिदामा बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको सङ्ख्या बढेपछि निकुञ्ज आसपासका होटल भरिभराउ भएका छन्। जिप सफारीका लागि पनि अग्रिम बुकिङ गर्नुपर्ने अवस्था आएको छ।
निकुञ्जका अनुसार कात्तिक १ देखि ६ गतेसम्म २ हजार १३७ जनाले अवलोकन गरेका छन्। तीमध्ये २७४ जना विदेशी र ७६ जना दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका पर्यटक थिए। निकुञ्जकी निमित्त सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत मञ्जु पौडेलका अनुसार अघिल्लो असोजमा १ हजार ७० जना आन्तरिक, २४८ जना सार्क राष्ट्रका र ५५५ जना अन्य विदेशी पर्यटक आएका थिए।
ठाकुरद्वाराका होटल पर्यटकले भरिएका छन्। पर्यटकको चापले जिप सफारीमा व्यस्तता बढेको व्यवसायी रामजी थापाले बताए। सफारी अग्रिम बुकिङ भइसकेकाले केही पर्यटकले निकुञ्ज घुम्न नपाएको गुनासो गरेका छन्।
बर्दिया निकुञ्ज बाघ अवलोकनका लागि चर्चित छ। निकुञ्जमा ११२ पाटेबाघ, ३८ गैँडा र १२० भन्दा बढी हात्ती रहेको जनाइएको छ। पर्यटकले जिप सफारी र पैदल यात्रामार्फत वन्यजन्तु अवलोकन गर्छन्।
निकुञ्जबाहिर खाता जैविक मार्गको डल्ला र पत्थरबोझी क्षेत्र तथा डल्ला होमस्टे पनि पर्यटकका रोजाइमा छन्। निकुञ्ज परिसरमा रहेको गोही तथा घडियाल प्रजनन केन्द्र र थारू सङ्ग्रहालयसमेत पर्यटकीय आकर्षण हुन्।





