९ कार्तिक २०८३, आईतवार

खोर्लाबेँसी–लुस्याङ सडकमा अस्थायी डाइभर्सन, सवारी आवागमन खुल्यो

ड्रागन मिडिया सम्वाददाता

बुढीगण्डकी नदीको बाढीले क्षति पुर्‍याएको बेनिघाट–आरुघाट–लार्के सडकको खोर्लाबेँसी–लुस्याङ खण्डमा अस्थायी डाइभर्सन निर्माण भएपछि सवारी आवागमन खुलेको छ। गोरखा सडक योजनाको कार्यालयले नौ दिन लगाएर २५० मिटर लामो डाइभर्सन बनाएको हो।

खोर्लाबेँसीमा सडक कटान भएपछि धार्चे गाउँपालिकाका तीन वडा र चुमनुब्री सडक सम्पर्कबाट विच्छेद भएका थिए। सडक खुलेसँगै दोभानतर्फको मार्ग सञ्चालन गर्ने काम अघि बढाइएको गोरखा सडक योजनाका प्रमुख विनोद पुनले बताए।

खोर्लाबेँसीदेखि सल्लेरीसम्म एक दर्जनभन्दा बढी ठाउँमा बाढी र पहिरोले सडकमा क्षति पुर्‍याएको छ। सडक निर्माण कार्यदलले सल्लेरीतर्फबाट पनि अवरोध हटाउने काम गरिरहेको छ। तातोपानी क्षेत्रमा बाढीले बगाएर ल्याएको हिलो पन्छाएर सडक खुलाउने काम भइरहेको प्राविधिक सुजन मगरले बताए।

यारुबगर, कालोभिर, जगत र सल्लेरीमा सडक कटान भएको छ। माथिल्लो क्षेत्रमा पुग्न तल्लो खण्डको सडक खुलाउनुपर्ने भएकाले क्रमशः काम अघि बढाइएको छ। सडक अवरुद्ध हुँदा बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन हेलिकप्टरमा निर्भर हुनुपरेको छ।

आरुघाट गाउँपालिका–३ को छेपारे भिरदेखि सोतीसम्मको सडक असोज अन्तिम साता खुलाइएको थियो। सोती र खोर्लाबेँसीको सडक खुलेपछि सडक कार्यालयले तातोपानी–दोभान खण्डमा काम गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button