असोजमा झन्डै छ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फ पनि पुनः शुरु

ड्रागन मिडिया सम्वाददाता
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को असोजमा भारततर्फ पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजना प्रभावित भए पनि भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फको ४० मेगावाट विद्युत निर्यात पनि पुनः शुरु भएको छ।
नेपाल विद्युत प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार आठ युनिट विद्युत निर्यात भएको थियो। यसबाट भएको कारोबार गत वर्षको असोजभन्दा ९६ करोड २० लाख र चालु आवको भदौभन्दा ८३ करोड २५ लाख रुपैयाँ बढी हो।
भारतको हरियाणा र बिहारमा द्विपक्षीय सम्झौताअनुसार विद्युत बिक्री गरिएको थियो। बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजारको डे-अहेड र रियल-टाइम बजारमार्फत बिक्री गरिएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए। उनका अनुसार असोजमा निर्यात भएको विद्युतमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार बिक्री गरिएको थियो।
चालु आवको पहिलो तीन महिनामा विद्युत निर्यातबाट १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बाढीका कारण निर्यातका लागि स्वीकृति पाएका केही आयोजनाको उत्पादन रोकिए पनि अन्य आयोजनाबाट निर्यात जारी राखिएको प्राधिकरणले जनाएको छ।
भोटेकोशीमा आएको हिमबाढीपछि त्रिशूली नदीमा आएको बाढीले त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याउँदा बंगलादेशतर्फको निर्यात रोकिएको थियो। भारतको केन्द्रीय विद्युत प्राधिकरणले सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्न स्वीकृति दिएपछि शुक्रबार साँझदेखि निर्यात पुनः शुरु भएको हो।
नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच भएको पाँचवर्षीय सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म दैनिक ४० मेगावाट विद्युत बंगलादेश निर्यात हुँदै आएको छ।





