परम्परागत चिकित्साको विश्वव्यापी प्रवर्द्धनमा चीनको भूमिका महत्त्वपूर्ण : विश्व स्वास्थ्य संगठनका अधिकारी

ड्रागन मिडिया समाचार कक्ष
विश्व स्वास्थ्य संगठनका पश्चिमी प्रशान्त क्षेत्रीय निर्देशक साइया माउ पिउकालाले परम्परागत चिकित्सालाई स्वास्थ्य प्रणालीमा समेट्ने चीनको अनुभवले विश्वव्यापी प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गर्न सक्ने बताएका छन्।
बेइजिङमा अक्टोबर १७ र १८ मा आयोजित सन् २०२६ को विश्व परम्परागत चिकित्सा सम्मेलनका अवसरमा सिन्ह्वासँग कुरा गर्दै उनले परम्परागत, पूरक तथा एकीकृत चिकित्सा विश्व स्वास्थ्य सेवाको बढ्दो हिस्सा बनेको बताए। यसले जनस्वास्थ्य, जनकेन्द्रित सेवा र सबैका लागि स्वास्थ्य सेवाको पहुँच विस्तारमा योगदान पुर्याउन सक्ने उनको भनाइ थियो।
परम्परागत चिकित्सालाई स्वास्थ्य प्रणालीमा समेट्दा सेवा पहुँच बढ्न र विशेषगरी प्राथमिक स्वास्थ्य सेवामा सुधार आउन सक्ने उनले बताए। तर यसको प्रयोग वैज्ञानिक प्रमाणमा आधारित हुनुपर्ने र सुरक्षा तथा प्रभावकारिता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिए। लामो समयदेखि प्रयोग हुँदै आएका उपचार विधिको समेत प्रभावकारिता र सुरक्षाबारे कठोर वैज्ञानिक परीक्षण आवश्यक रहेको उनले बताए।
विश्व स्वास्थ्य संगठनको पश्चिमी प्रशान्त क्षेत्रीय ढाँचाले परम्परागत तथा पूरक चिकित्सालाई राष्ट्रिय नीतिमा समेट्ने, सेवाको सुरक्षा र गुणस्तर सुनिश्चित गर्ने, समान पहुँच बढाउने तथा अनुसन्धान र अभिलेखीकरणलाई प्रोत्साहन गर्ने रणनीति अघि सारेको छ।
पिउकालाका अनुसार चीनले शिक्षा तथा तालिम, अनुसन्धान, सेवा प्रवाह र नियामक क्षमतामा निरन्तर लगानी गर्दै व्यवस्थित परम्परागत चिकित्सा प्रणाली विकास गरेको छ। प्राथमिक स्वास्थ्य सेवामा यसको एकीकरण, उपचार सामग्री र सेवाप्रदायकको जोखिममा आधारित नियमन तथा गुणस्तर सुनिश्चित गर्ने अभ्यासबाट अन्य देशले पनि सिक्न सक्ने उनले बताए।
कृत्रिम बुद्धिमत्तासहितका आधुनिक प्रविधिले जैविक तथ्याङ्क विश्लेषण, सम्भावित उपचार पद्धतिको अध्ययन र औषधिजन्य पदार्थको सुरक्षा तथा प्रभावकारिता मूल्याङ्कनमा सहयोग गर्न सक्ने उनले बताए। यस्ता प्रविधिको प्रयोग वैज्ञानिक कठोरता, नैतिकता र जिम्मेवार तथ्याङ्क व्यवस्थापनमा आधारित हुनुपर्ने तथा परम्परागत ज्ञान र त्यससँग सम्बन्धित अधिकारको सम्मान गर्नुपर्नेमा उनले जोड दिए।
सम्मेलनले अनुसन्धानलाई अघि बढाउन, अन्तर्राष्ट्रिय मापदण्डमा सामञ्जस्य कायम गर्न र नियामक निकायबीच सहकार्य बढाउन अवसर दिएको पिउकालाले बताए। साझा प्रतिबद्धतालाई निरन्तर सामूहिक कार्यमा रूपान्तरण गर्न सके मात्र अन्तर्राष्ट्रिय सहकार्यबाट जनताले ठोस लाभ पाउने उनको भनाइ थियो।





