९ कार्तिक २०८३, आईतवार

हिनेस्ट्रोजाका अन्तिम क्षणका दुई गोलले सीडोर्फको डेब्युमा कोरिन्थियन्स स्तब्ध

ड्रागन मिडिया समाचार कक्ष

कोलम्बियाली विंगर मारिनो हिनेस्ट्रोजाले खेलको अन्तिम तीन मिनेटभित्र दुई गोल गरेपछि भास्को द गामाले ब्राजिलको सिरी ‘ए’ मा शनिबार कोरिन्थियन्सलाई ३–२ ले हराएको छ।

साओ जानुआरियो रंगशालामा घरेलु टोली भास्कोका जोसे लुइस रोड्रिगेजले पहिलो गोल गरेका थिए। दोस्रो हाफ शुरु भएको केही समयमै गुस्ताभो हेनरिकले हेडमार्फत गोल गर्दै कोरिन्थियन्सलाई बराबरीमा पुर्‍याए। त्यसपछि मातेउस बिदुले फाब्रिसियो आङ्गिलिएरीसँगको तालमेलमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए।

घाइते आन्द्रे गोमेजको स्थानमा पहिलो हाफमै मैदान प्रवेश गरेका हिनेस्ट्रोजाले खेलको अन्तिम तीन मिनेटमा लगातार दुई गोल गर्दै भास्कोलाई जित दिलाए। यो टोलीको सिजनको दसौँ जित हो।

जितपछि २० टोली सहभागी लिग तालिकामा रियो दि जेनेरियोको भास्को ३८ अङ्कसहित १३औँ स्थानमा छ। १७औँ स्थानमा रहेको कोरिन्थियन्सभन्दा भास्को पाँच अङ्कले अगाडि छ।

यस खेलबाट डच पूर्वफुटबलर क्लारेन्स सीडोर्फले कोरिन्थियन्सको प्रशिक्षकका रूपमा डेब्यु गरेका हुन्। उनलाई यसै महिनाको शुरुमा फर्नान्डो डिनिजको स्थानमा नियुक्त गरिएको थियो।

खेलपछि सीडोर्फले अन्तिम समयमा हार्दा टोलीका खेलाडी निराश हुनु स्वाभाविक भएको बताए। आक्रमणमा केही अवसरको राम्रो उपयोग गर्न नसकेको र रक्षात्मक अवस्थामा पनि सुधार गर्नुपर्ने उनले बताए।

शनिबारकै अन्य खेलमा इन्टरनासियोनालले बोटाफोगोलाई ३–० ले हरायो। मिरासोल र साओ पाउलोले १–१ को बराबरी खेले भने एथ्लेटिको पारानाएन्से र भिटोरियाको खेल पनि १–१ मा टुङ्गियो। पाल्मेरासले ब्रागान्टिनोलाई २–० ले हरायो। चापेकोएन्सेले फ्लुमिनेन्सेलाई २–१ ले पराजित गर्दा बाहिया र सान्तोसले १–१ को बराबरी खेले।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button