एसिया कपमा छनोट नेपाली टोलीलाई क्यानले ३० लाख रुपैयाँ दिने

ड्रागन मिडिया सम्वाददाता
नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रो पटक एसिया कपमा छनोट भएको राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आइतबार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा टोलीलाई प्रोत्साहनस्वरूप पुरस्कार दिने बताएका हुन्। उनले एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए।
सीमित स्रोतसाधन र न्यून पारिश्रमिकका बीच खेल्दै आएका खेलाडीलाई प्रतियोगिता र प्रायोजनमार्फत आर्थिक रूपमा सबल बनाउने प्रयास भइरहेको चन्दले बताए। सरकारले एसियाली प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुने टोलीलाई पुरस्कार दिने व्यवस्था गरे पनि पछिल्लो समय खेलाडीले पुरस्कार पाउन नसकेको उनको भनाइ थियो। उनले क्रिकेटलाई प्राथमिकतामा राखेर पुरस्कारसम्बन्धी निर्णय गर्न सरकारसँग आग्रह गरे।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता थप चार वर्ष कायम राखेको र दोस्रो पटक एसिया कपमा छनोट भएको उल्लेख गर्दै चन्दले एकदिवसीय विश्वकप खेल्ने लक्ष्यका लागि टोली प्रयासरत रहेको बताए। नेपालमै प्लेअफ छनोट प्रतियोगिता आयोजना गर्ने अवसर पाउनु विश्वकपसम्म पुग्ने यात्राको महत्त्वपूर्ण कडी भएको पनि उनले बताए।
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणबारे बोल्दै चन्दले प्रतियोगिता हरेक वर्ष थप व्यवस्थित र आकर्षक हुँदै गएको बताए। आठवटै टोलीका मालिक, क्रिकेट संघका विभिन्न तह, सञ्चारमाध्यम र प्रायोजकको योगदानले प्रतियोगिताले नेपाली क्रिकेटको पहिचान बनाउँदै गएको उनको भनाइ थियो। उत्कृष्ट खेलाडीको सहभागिता, निर्णय पुनरावलोकन प्रणालीलगायत प्रविधिको प्रयोग र आर्थिक कारोबारको विस्तारले प्रतियोगिताको स्तर बढाएको उनले बताए।





