झापामा डिजेल भण्डारणस्थलमा आगलागी, ट्रकमा क्षति

ड्रागन मिडिया सम्वाददाता
झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रा.लि.मा आइतबार साँझ आगलागी हुँदा करिब साढे नौ हजार लिटर डिजेल जलेको छ। सडक कालोपत्र गर्न भण्डारण गरिएको डिजेलमा साँझ पौने ७ बजेतिर विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक विवरण छ।
आगलागीबाट परिसरमा पार्किङ गरिएको को १ क १८०० नम्बरको ट्रकमा समेत क्षति पुगेको छ। डिजेलमा सल्केको आगो तीव्र रूपमा फैलिँदा आसपासका क्षेत्रमा त्रास फैलिएको थियो।
आगो नियन्त्रणका लागि दमकल बोलाइएको थियो। डिजेलमा पानी हाल्दा आगो थप फैलिन सक्ने जोखिम भएकाले बालुवा प्रयोग गरी नियन्त्रणको प्रयास गरिएको प्रहरीले जनाएको छ। घटनामा भएको क्षतिको यकिन विवरण आउन बाँकी छ।





