एसिया कपमा छनोट नेपाली टोलीलाई क्यानको ३० लाख पुरस्कार

ड्रागन मिडिया सम्वाददाता
नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी एसिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ।
नेपाल प्रिमियर लिगको तेस्रो संस्करणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पुरस्कार घोषणा गरेका हुन्। उनले एसिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै सरकारले पनि टोलीलाई पुरस्कार दिनुपर्ने बताए।
नेपालले गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्सलाई ४४ रनले हराउँदै दोस्रोपटक एकदिवसीय एसिया कपमा स्थान सुरक्षित गरेको थियो।
अध्यक्ष चन्दले नेपाल प्रिमियर लिगले देशको अर्थतन्त्र र खेलकुद क्षेत्रलाई चलायमान बनाउन योगदान दिएको बताए। कठिन परिस्थितिका बीच सम्बन्धित निकायबीच समन्वय गरेर प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो। उनले पहिलो संस्करणको तुलनामा दोस्रो संस्करणमा प्रतियोगिताको वित्तीय पारदर्शिता र लेखापरीक्षण प्रक्रियामा सुधार आएको पनि जानकारी दिए।





