१० कार्तिक २०८३, सोमबार

महालक्ष्मीको पूजा र जाग्रामसँगै बडादशैँ समापन

ड्रागन मिडिया सम्वाददाता

काठमाडौं—महालक्ष्मीको पूजा आराधना र रातभर जाग्राम बसेर आइतबार कोजाग्रत पूर्णिमा मनाइएको छ। यससँगै आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको १५ दिन लामो बडादशैँ पर्व विधिवत् रूपमा समापन भएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार शास्त्रअनुसार गर्नुपर्ने अखिल बलिपूर्तिको कार्य आइतबार सम्पन्न भएको छ। विजयादशमीदेखि मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद ग्रहण गर्ने क्रम पनि पूर्णिमासँगै सकिएको छ। दशैँघर र पूजाकोठामा राखिएका जमरा पवित्र नदी, तलाउ तथा तीर्थस्थलमा लगेर विसर्जन गरिएको छ।

नवरात्र विजयादशमीमा सकिए पनि दुर्गा पक्ष आश्विन शुक्ल पूर्णिमासम्म रहने धार्मिक मान्यता छ। दुर्गा माताका तीन स्वरूपमध्ये एक मानिने महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदाइ गरिन्छ।

कोजाग्रत पूर्णिमाको रात जाग्राम बस्नेको घरमा पृथ्वी भ्रमणमा रहेकी महालक्ष्मी प्रवेश गरी सुख, शान्ति र ऐश्वर्य प्रदान गर्छिन् भन्ने जनविश्वास छ। समितिका अध्यक्ष सहप्राध्यापक पुरुषोत्तम भट्टराईका अनुसार यस पूर्णिमालाई कौमुदी पूर्णिमा पनि भनिन्छ। यस अवसरमा महालक्ष्मीका साथै ऐरावत हात्तीमा सवार देवराज इन्द्रको पूजा गर्ने चलन छ। यस रात मनोरञ्जनका रूपमा जुवा खेल्ने परम्परा रहेको पनि उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button