१० कार्तिक २०८३, सोमबार

बंगालको खाडीको चक्रवातले नेपालमा वर्षा गराउने, किसान र पदयात्रीलाई सतर्क रहन आग्रह

ड्रागन मिडिया सम्वाददाता

बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुँदै गएपछि बुधबारदेखि नेपालको मौसम प्रभावित हुने अनुमान गरिएको छ। बिहीबार रातिदेखि शनिबारसम्म वर्षा र हिमपातको सम्भावना बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा तथा लुम्बिनीका केही र कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्छ। कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ। लुम्बिनीको तराईका एक–दुई स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागको अनुमान छ। पश्चिम नेपालमा प्रभाव तुलनात्मक रूपमा कम देखिन सक्नेछ।

भारतको मौसम विज्ञान विभागले चक्रवात आन्ध्र प्रदेशको तटीय क्षेत्रमा पुग्न सक्ने जनाएको छ। जमिनमा प्रवेश गरेपछि पनि त्यसको अप्रत्यक्ष प्रभाव नेपालमा वर्षाका रूपमा देखिन सक्ने मौसमविद्हरूले बताएका छन्। वर्षाको मात्रा र प्रभाव ठाउँअनुसार फरक पर्न सक्ने भएकाले मौसमको थप विवरणमा ध्यान दिन विभागले आग्रह गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीका अनुसार वर्षाले कृषि, पदयात्रा र सडक यातायातमा असर पार्न सक्छ। पाक्न लागेको धानबाली ढल्ने, उच्च हिमाली क्षेत्रमा रहेका पदयात्री प्रभावित हुने तथा भिजेको जमिनमा बाढीपहिरोको जोखिम बढ्ने सम्भावना छ।

प्राधिकरणले बिहीबारदेखि शनिबारसम्म धान नकाट्न र काटिसकेको भए सुरक्षित रूपमा भित्र्याउन किसानलाई आग्रह गर्ने तयारी गरेको छ। उच्च हिमाली क्षेत्रमा पदयात्री नपठाउन तथा यात्रा तय गरिसकेका पर्यटकको कार्यक्रम पछाडि सार्न पदयात्रा व्यवसायीलाई पनि अनुरोध गरिने उप्रेतीले बताएका छन्। सडक यातायात रोक्नुपर्ने अवस्था आएमा परिस्थितिअनुसार निर्णय गरिने उनले बताए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button