सिचाङ भूकम्पपछि विस्थापितको स्वास्थ्य र बसोबासमा ध्यान

ड्रागन मिडिया समाचार कक्ष
चीनको सिचाङ स्वायत्त क्षेत्रमा गएको ७.० म्याग्निच्युडको भूकम्पपछि उद्धार तथा राहतसँगै जनस्वास्थ्य र विस्थापितको बसोबास व्यवस्थापनमा काम भइरहेको छ। अक्टोबर २२ को राति नाङ्चु नगरको बाकेन काउन्टीमा गएको भूकम्पमा हालसम्म १६ जनाको मृत्यु र ७६ जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्। १२ हजारभन्दा बढी स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ।
रोग नियन्त्रण टोलीले ३५ अस्थायी बसोबासस्थलमा रहेका ३ हजार ६ सयभन्दा बढीको संक्रामक रोग निगरानी गरेको छ। सार्वजनिक स्थान र संक्रमणको जोखिम भएका क्षेत्रमा कीटाणुनाशक छर्कनुका साथै खानेपानीको गुणस्तर परीक्षण भइरहेको नाङ्चु भूकम्प राहत मुख्यालयले जनाएको छ। विभिन्न अस्थायी बसोबासस्थलमा स्वास्थ्यकर्मीसहितका घुम्ती उपचार केन्द्र स्थापना गरिएका छन्। त्यहाँ सामान्य रोग र चोटपटकको उपचार, नियमित स्वास्थ्य जाँच, औषधि वितरण र मनोसामाजिक परामर्श दिइँदैछ।

भूकम्पको केन्द्र औसत ४ हजार ८ सय मिटर उचाइमा रहेकाले अक्टोबरको चिसो मौसममा राहत र बसोबास व्यवस्थापन चुनौतीपूर्ण बनेको छ। विस्थापितका लागि राखिएका पालमा तापका लागि चुलोको व्यवस्था गरिएको छ। शनिबारदेखि घुम्ती भोजन वाहन, पानी शुद्धीकरण केन्द्र र वातावरणमैत्री शौचालयसहितका आपत्कालीन सुविधा सञ्चालनमा आएका छन्।
घुम्ती भोजन वाहनले दुई घण्टामा ३०० देखि ५०० जनाका लागि खाना तयार गर्न सक्छ। मारु क्षेत्रमा जडान गरिएको पानी शुद्धीकरण केन्द्रले प्रतिघण्टा दुई टन इनारको पानी प्रशोधन गर्न सक्छ र माइनस ३० डिग्री सेल्सियससम्मको तापक्रममा सञ्चालन हुने गरी बनाइएको छ। मारुका पाँच प्रशासनिक गाउँमा यस्ता केन्द्र राखिएको र सेवा विस्तार गरिने अधिकारीहरूले बताएका छन्।
सौर्य ऊर्जाबाट चल्ने वातावरणमैत्री शौचालयमा पानीविहीन प्रणालीमार्फत फोहोर प्रशोधन गरिन्छ। राहत तथा उद्धारका लागि विभिन्न तहका ५ हजारभन्दा बढी कर्मचारी परिचालन गरिएको छ भने केन्द्रीय र स्थानीय सरकारका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याइँदैछ।





