१० कार्तिक २०८३, सोमबार

सप्तकोशी पानीबोट दुर्घटनामा बेपत्ता तीन जनाको खोजी तीव्र

ड्रागन मिडिया सम्वाददाता

सप्तकोशी नदीमा आइतबार भएको पानीबोट दुर्घटनामा बेपत्ता तीन जनाको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालित छ। सशस्त्र प्रहरीका सात गोताखोरसहित ११ सदस्यीय टोलीले नदी र किनारामा खोजी गरिरहेको छ।

बेपत्ता हुनेमा झापाको कन्काई नगरपालिका–४ की निता मगरका अन्दाजी सात वर्षीय छोरा शिवक मगर तथा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २१ वर्षीया प्रमिला मगर र २२ वर्षीया मनु राई छन्। खोजी टोलीले दुर्घटनास्थलदेखि चतरासम्मको क्षेत्रमा खोजी गरिरहेको छ।

भोजपुरको हतुवागढी गाउँपालिका–९, कोप्चेबाट सुनसरीको चतरास्थित बराहक्षेत्रतर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट आइतबार दिउँसो करिब २ बजे धनकुटाको साँगुरीगढी गाउँपालिका–१०, त्रिवेणीस्थित सप्तकोशी नदीमा दुर्घटनामा परेको थियो। प्रहरीका अनुसार पानीबोटको ब्रेक फेल भएपछि दुर्घटना भएको हो।

दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की लीला राई, अन्दाजी सात वर्षीया पहिचान नखुलेकी बालिका र अन्दाजी ५० वर्षीय पहिचान नखुलेका पुरुष छन्। उद्धार गरिएका १२ जनामध्ये उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनार घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। पानीबोटका चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २४ वर्षीय सुमन मगर प्रहरी नियन्त्रणमा छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button